२८ जेठ २०८३, बिहीबार

रूपन्देही कार दुर्घटनामा तीन जनाको मृत्यु : बुटवलले गुमायो सफल व्यवस्थापक

जेठ ३१, २०८१
बुटवल
रूपन्देही कार दुर्घटनामा तीन जनाको मृत्यु : बुटवलले गुमायो सफल व्यवस्थापक

पाल्पाको तिनाउ गाउँपालिका–२ नुवाकोटबाट बुटवल फर्किँदै गरेको निजी कार  दुर्घटनामा परी तीन जनाको निधन भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारीअनुसार दुर्घटनामा परी २ जना घाइते भएका छन् ।

बुटवलमाथिको डाँडा नुवाकोट घुमेर फर्किँदै गरेको लु २ च ८५३१ नम्बरको सेलेरियो कार सडकदेखि करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनमा परी मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार घर भई हाल बुटवल उपमहानगरपालिका–१० बस्दै आएका चालक ५६ वर्षीय रामप्रसाद शर्मा (छविलाल), तिलोत्तमा–३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते उनीहरूलाई उद्धारगरी उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनीहरूसँगै एसएलसी दिएका ब्याजीहरूको भेला बुटवलमा सम्पन्न गरेर नुवाकोट घुम्न गएका थिए । 

दुर्घटनामा परी ज्यान गुमाएका शर्मा निजी क्षेत्रका कुशल बजार व्यवस्थापक हुन् । लामो समय चाउचाउको व्यवस्थापनमा सक्रिय शर्मा पछिल्लो केही समय यता मसला उद्योगको बजार व्यवस्थापनमा सक्रिय थिए । 

विभिन्न सामाजिक र व्यवसायीक संस्थामा सक्रिय शर्मा उद्योगबाट उत्पादित उत्पादनको बजारीकरणमा अब्बल व्यवस्थापक मानिएको करेन्ट मसलाका सञ्चालक नरिश्वर पौडेलले बताए । उनको निधनले उद्योगले सफल व्यवस्थापक गुमाएको पौडेलले बताए । 

रमपम चाउचाउ हुँदै लाली चाउचाउको बजारीकरण र व्यवस्थापनमा उनले आफूलाई राष्ट्रिय स्तरमै पहिचान दिन सफल भएको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । शर्मा पछिल्लो समय यसोदा फुड्समा कर्पोरेट म्यानेजरको रूपमा कार्यरत थिए । 

यसैगरी दुर्घटनामा परी बुटवल उपमहानगरपालिका–९ बस्ने चन्द्रा श्रेष्ठ र बुटवल–११ बस्ने लक्ष्मीता श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको स्वास्थ्य अवस्था मध्यम रहेको र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । 

दुर्घटना बुधबार साँझ करिब ८ बजेर २५ मिनेटको समयमा भएको थियो । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्