२८ जेठ २०८३, बिहीबार

संखुवासभामा पहिरोले तीन घर बगायो, एकजना घाइते

जेठ ३१, २०८१
संखुवासभा
संखुवासभामा पहिरोले तीन घर बगायो, एकजना घाइते

सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्ति गाउँमा पहिरोले तीन घर बगाएको छ । गएराति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको हो । 

कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । 

पहिरोमा परेर एक जना घाइते भएका छन् । पहिरोमा परेर मणिप्रसाद राई घाइते भएको उनले बताए ।

पहिरोले घर बगाएर विस्थापित भएपछि उनीहरू छिमेकीको घरमा आश्रय लिएर बसिरहेको लामिछानेले बताए । 

उनका अनुसार पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा नौ घर विस्थापित भएका छन् । 

खाँदबारी–४ सेकाहाका चार घर पहिरोबाट विस्थापित भएका वडा नं ४ का वडाध्यक्ष विनोद सुब्बा गुरुङले जानकारी दिए । चिचिला गाउँपालिकाको वडा नं १ र २ का पाँच घर पहिरोको उच्च जोखिममा परेका प्रहरीले जनाएको छ । 

जिल्लामा बाढी पहिरोले के–कति क्षति भयो भन्ने विवरण सङ्कलन भइरहेको प्रहरी निरीक्षक लामिछानेले बताए । 

पहिरोले उत्तर–दक्षिण कोशी सडकमा समेत क्षति पुगेको छ । कालोपत्र गर्न ठिक्क पारिएको चार किलोमिटर सडकमा क्षति पुगेको उत्तरदक्षिण कोशी सडक आयोजनाले जनाएको छ । यो कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का सडकखण्डमा पर्दछ । 

निरन्तरको वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । पहिरोका कारण करिब एक करोडको क्षति भएको सडक कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्