
नेपाली कांग्रेसका पूर्वनेतासमेत रहेका पूर्वगृहमन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले शान्ति सुरक्षाको माग गरेका छन् । उनले बिहीवार ‘जीउधनको सुरक्षा गरी शान्ति सुरक्षा कायम गरी पाउँ’ भन्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा निवेदन दिएका हुन् ।
२०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा तनहुँको व्यास नगरपालिकाका प्रमुख (मेयर) पदमा उम्मेदवारसमेत रहेका दीपकराजले आफूमाथि खतरा रहेको जानकारी जिल्ला प्रहरी कार्यालयमा गराउँदा पनि कुनै सुनुवाइ नभएको निवेदनमा उल्लेख गरेका छन् ।
दीपकराजलाई चुनावकै बेला मतदान केन्द्रको अनुगमनका क्रममा एक समूहले सांघातिक आक्रमणसमेत गरेको थियो । उनी अहिले निरन्तर उपचाररत छन् । चुनावी मतगणनामा धाँधली भएको भन्दै मुद्दासमेत हालेका उनले निवेदनमा लेखेका छन्,‘ मैले स्थानीय चुनावको मतगणना धाँधली भयो भनेर हालेको मुद्दाको सुनुवाइ अन्तिम चरणमा भएको अवस्था छ । यही असार २ गते व्यास नगरपालिकाको मेयर पदको पुनःमतगणना हुने भनेर पोखरा उच्च अदालतले आदेश दिएको छ ।’
चुनावी मतगणनामा धाँधली भयो भन्दा कांग्रेसका उच्च तहका नेताले आफूलाई गोली हान्ने आदेश दिएको भनेर दीपकराजले सार्वजनिक मञ्चबाटै बोलेका थिए । त्यतिबेलैदेखि नै आफू र आफ्नो परिवार असुरक्षित रहेको उनले निवेदनमा उल्लेख गरेका छन् । ‘तनहुँ सीडीओ र डीएसपीलाई रातारात लखेटेको जिल्ला हो भनेर मुख्य निर्वाचन अधिकृतलाई सार्वजनिक स्थलबाट धम्की दिनेहरूबाट म र मेरो परिवारका लागि खतराको उच्च जोखिम बढेको छ । अहिले पुनः मतगणनाको समयमा भय–त्रास र धम्कीको अवस्था झनै थपिएको छ,’ उनले निवेदनमा भनेका छन्,‘ स्थानीय तह निर्वाचनको समयमा घटेको गतिविधि दोहोरिन सक्ने अवस्था विद्यमान रहेको हुँदा म र मेरो परिवारको सदस्यको जिउधनको सुरक्षा गरी पूर्ण मतगणना नभइन्जेलसम्म भयरिहत शान्तिपूर्ण वातावरणमा हिड्डुल गर्न पाउने शान्तिसुरक्षाको वातावरण मिलाइ पाऊँ ।’
निवेदनमा उनले राष्ट्रिय मानवअधिकार आयोगको मुख्यालय, आयोगकै प्रदेश कार्यालय गण्डकी, हेल्लो सरकार, निर्वाचन आयोग र गण्डकी प्रदेश प्रहरी कार्यालयलाई बोधार्थ दिएका छन् ।
दीपकराजको निवेदनमाथि जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत विकास श्रेष्ठले जिल्ला प्रहरी कार्यालयलाई सम्बोधन गरेर पत्र लेखेका छन् । पत्रमा उनलाई शान्ति सुरक्षा प्रयोगार्थ मात्र आवश्यक कारबाही गर्न भनिएको छ ।

दीपकराज २०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा तनहुँको व्यास नगरपालिकाका मेयर पदमा स्वतन्त्र उम्मेदवार थिए । उनीमाथि कांग्रेसको एक समूहले आक्रमण गरेको थियो । उनी घाइते भएका थिए ।
उनका पिता गोविन्दराज कुनैबेला गृहमन्त्री थिए । कांग्रेसले पार्टीबाट निष्कासन गरेपछि उनी नेकपा (एमाले)नजिक देखिएका छन् ।