
चितवनको इच्छाकामना गाउँ भएर बग्ने त्रिशूली नदीमा बेपत्ता भएका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
सप्तरीको खडक गाउँपालिका घर भएर कुरिनटारस्थित बियर फ्याक्ट्रीमा कार्यरत ५६ वर्षीय बन्धु चौधरीको सशस्त्रले जीवितै उद्धार गरेको हो ।
चौधरी माछा मार्ने क्रममा बिहीवार दिउँसो त्रिशुलीमा बेपत्ता भएका थिए । लगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक श्रीकृष्ण श्रेष्ठको कमान्डमा गोताखोरसहित १० जनाको टोली परिचालन भएको थियो ।
चौधरीलाई साँझ बिहीवार सवा ५ बजे नदी किनारको पहरोमा अड्किएको अवस्थाबाट जीवितै उद्दार गरी कुरिनटारस्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा ल्याइएको जानकारी सशस्त्र प्रहरी बल प्रधान कार्यालयका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिए ।
थापाका अनुसार चौधरीको हात र खुट्टामा चोट लागेको छ ।
त्यस्तै बिहीवारै धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका भारतीय नागरिक सोनालाल दासको खोजी कार्य भइरहेको सशस्त्रले जनाएको छ ।
यसैगरी पोखरा महानगरपालिका–१७ बिरौटास्थित रातो पहिरोमा जेठ गत जेठ २६ गतेदेखि सम्पर्कविहीन भएका धनबहादुर आलेको पनि गोताखोर टोलीले खोजी गरिरहेको डीएसपी थापाले जानकारी दिए ।