०८ साउन २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

मनसुनको प्रभाव पूर्वमा–सुरु भयो बाढी पहिरो, तराईमा भने तातो हावा चल्ने

जेठ ३२, २०८१
काठमाडौं
मनसुनको प्रभाव पूर्वमा–सुरु भयो बाढी पहिरो, तराईमा भने तातो हावा चल्ने

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
पहिरोमा पुरिएर ताप्लेजुङमा ४ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा लिम्बूको परिवारका चार जनाको मृत्यु भए प्रहरीले जनाएको छ । 
पहिरोमा उनका बुवा, आमा र दुई बहिनीको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार फक्ताङलुङ–२ खेजिनिममा रहेको लिम्बूको घरमाथिबाट राति १ बजेतिर पहिरो खसेको थियो ।

यसैगरी सङ्खुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा गएको बाढी पहिरोले तीन घर बगाएको छ । करिब एक सय २५ भन्दाबढी परिवार विस्थापित भएका छन् । 

पहिरोले खाँदबारी– ११ आङ्ला गाउँमा तीन घर बगाएको हो । बुधबार राति भएको अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । 

००००
हाल देशको पूर्वी भूभागमा मात्र मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ।

जसअनुसार आज कोशी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशको पहाडी भू(भागका एक दुई स्थानमा बिहानैदेखि मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थान तथा मधेश प्रदेशसहित देशका बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
००००
यसैबीच जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनमध्य तथा पश्चिम तराईमा भने अत्यधिक गर्मीको सम्भावना रहेको जनाउँदै ती भेगका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

विभागले बिहीबार साँझ विशेष बुलेटिन निकालेर कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङमा तातो हावा र तातो लहरको सम्भावना रहेको जनाउँदै ती स्थानका बासिन्दालाई सचेत रहन आग्रह गरेको हो ।
००००
नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९–८० को विस्तृत प्रतिवेदन सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार तथ्याङ्कीय प्रतिवेदन सार्वजनिक गरेको हो । जनताको जीवनस्तर मापन गरी देशमा रहेको गरिबीको अवस्था थाहा पाउनका लागि जीवनस्तर सर्वेक्षण सञ्चालन गरिन्छ । 

प्रतिवेदनमा नसर्ने रोग बढ्दै गएको देखाएको छ । तेस्रो सर्वेक्षणमा ११ दशमलव सात प्रतिशत रहेकामा हाल यसको अवस्था १८ दशमलव पाँच प्रतिशत पुगेको छ । सबैभन्दा धेरै रक्तचापका १९ दशमलव आठ प्रतिशत, पेटसम्बन्धी रोग १४ दशमलव सात प्रतिशत, मधुमेह नौ दशमलव तीन प्रतिशत, श्वासप्रश्वासम्बन्धी रोग आठ दशमलव छ प्रतिशत छ ।
००००
सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ । यही जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार त्यसरी परिचयपत्र अनिवार्य भएपछि अहिले जिल्ला प्रशासन कार्यालयमा भीड बढेको छ ।  

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले पहिलो चरणमा २८ जिल्लामा आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको बताए ।

 अहिले विभागबाट ती जिल्लामा विवरण दर्ताका लागि जनशक्तिसमेत थप गरेर स्थानीय तहसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले पालिका÷वडास्तरमा अभियान सञ्चालन गरी विवरण दर्ता भइरहेको उनले बताए ।
००००
जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरमा सम्पन्न महाधिवेशनले पदाधिकारी र केन्द्रीय कार्यसमिति चयनको जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ ।

बिहीबार दिउँसो निर्वाचनको तयारी भए पनि अन्तिममा सम्पूर्ण जिम्मेवारी अध्यक्ष यादवलाई दिने निर्णय गरेको हो । अध्यक्षमा भने यादव हिजो नै निर्विरोध निर्वाचिन भइसकेका छन् ।
००००
नेकपा एकीकृत समाजवादीले १० औं महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । 
एमालेबाट विभाजन भएको ३ वर्ष पुग्नै लाग्दा आगामी असार १६ देखि २० गतेसम्म हुन लागेको महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको नेताहरूले बताएका छन् ।

महाधिवेशनमा अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालको समाजवादी कार्यक्रम, उपाध्यक्ष डा। वेदुराम भुसालको विधान संशोधन प्रतिवेदन र महासचिव घनश्याम भुसालको सांगठनिक प्रतिवेदन पेस गर्ने तयारी छ ।
००००
न्याय सेवा, सरकारी वकील समूहका ८ जना सहसचिव, ५२ जना उपसचिव र ९१ जना शाखा अधिकृतको सरुवा भएको छ ।

बिहीवार बसेको न्याय सेवा आयोगको बैठकले सरुवाको निर्णय गरेको हो । 
साथै एक न्यायाधिवक्तालाई सहन्यायाधिवक्तामा बढुवासमेत गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्