
नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएका फणीन्द्र देवकोटाको सांसद पद गुमेको छ ।
माओवादी संसदीय दलले गरेको कारबाहीको पत्र सभामुखले सभामा पढेर सुनाएलगत्तै देवकोटाको सांसद पद गुमेको हो ।
शुक्रबार बसेको प्रदेश सभा बैठकका सभामुख कृष्णप्रसाद धितालले देवकोटालाई कारबाही गरिएको सम्बन्धी माओवादी संसदीय दलको पत्र पढेर सुनाएका थिए ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम देवकोटालाई कारबाही गर्न माग गर्दै माओवादी संसदीय दलले प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएको थियो ।
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका देवकोटा २०७९ सालको आम निर्वाचनमा माओवादीको चिन्ह लिएर चुनाव लडेका थिए ।
जेठ २८ गते प्रदेश सभामा उनले कांग्रेसका पाण्डेलाई मत दिएर सरकार जोगाइदिएका थिए ।
देवकोटाको पद गएसँगै पाण्डे फेरि अल्पमतमा परेका छन् ।