
टी–२० क्रिकेट विश्वकपमा शनिवार नेपालले बलियो टेस्ट राष्ट्र दक्षिण अफ्रिकाको सामना गर्दैछ ।
खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजे सेन्ट भिसेन्ट एन्ड ग्रेनाडिनेसस्थित आर्नोस भेला रंगशालामा शुरू हुनेछ ।
समूह ‘डी’बाट दक्षिण अफ्रिका ६ अंकसहित सुपर ८ मा पुगिसकेको छ । यस्तोमा २ खेलबाट १ अंक जोडेको नेपालले सुपर ८ मा स्थान बनाउने सम्भावना कायमै राख्न दक्षिण अफ्रिकालाई हराउनु पर्नेछ । यो त्यति सहज भने होइन ।
यद्यपि, नेपाली टोली बलियो टेस्ट राष्ट्रसँग पहिलोपल्ट आमने–सामने हुन पाउँदा उत्साहित छ । दक्षिण अफ्रिकासँग खेल्न आफूहरू उत्साहित रहेको नेपालका कप्तान रोहितकुमार पौडेलले बताइसकेका छन् । लेग स्पिनर सन्दीप लामिछानेको आगमनले टोली बलियो भएको उनले दाबी गरे ।

अमेरिकी दूतावासले भिसा नदिएकाले अमेरिकामा भएका खेलमा सन्दीप सहभागी थिएनन् ।
नेपाल समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।
नेपाल र श्रीलंकाबीच बुधवारका लागि तय खेल वर्षाका कारण रद्द भएको थियो ।
खेल रद्द भएसँगै दुवै टोलीले समान १–१ अंक पाएका थिए । श्रीलंका ३ खेलबाट १ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ । अरुको सम्भावना भने कायमै छ ।
समूहमा ३ खेलबाट ४ अंक जोडेको बंगलादेशको सुपर ८ मा जाने सम्भावना बढी छ ।
प्रतियोगिता अमेरिका र वेस्ट इन्डिजमा जुन १ देखि जारी छ ।