२० असार २०८३, शनिबार

कहाँबाट चुनाव लड्ने भए एमालेका शीर्ष नेता ?

कात्तिक २०, २०७४
कहाँबाट चुनाव लड्ने भए एमालेका शीर्ष नेता ?
काठमाडौं ४ कात्तिक– मंसिर १० र २१ मा हुने प्रदेश तथा प्रतिनितिसभा चुनावका लागि दलहरुले उम्मेदवार छनौटको गृहकार्य अन्तिम चरणमा पुराएका छन् । मंसिर १० को चुनावका लागि तिहारको भोलिपल्ट उम्मेदवारी मनोनयन हुँदैछ ।

आइतवार हुने मनोनयनका लागि एमालेले उम्मेदवारको नाम शुक्रवार टुंगो लगाउने तयारी गरेको छ । सचिव योगेश भट्टराई पहिलो चरणमा चुनाव हुने ताप्लेजुङबाट उम्मेदवार बन्दैछन् । सिन्धुपाल्चोक, धादिङ र नुवाकोटमा उम्मेदवार छान्न एमालेलाई समस्या परेको छ ।

अध्यक्ष केपी ओली गृहजिल्ला झापा ५ बाट चुनाव लड्ने पक्का भएको छ । सुनसरी, सिराहा लगायतका स्थानबाट समेत नाम सिफारिश भएपनि ओलीले झापा ५ बाटै चुनाव लड्ने तयारी गरेका छन् । गत संविधानसभा चुनावमा ओली झापा ७ बाट विजयी अध्यक्ष भएका थिए ।

बरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौं २ बाट चुनाव लड्ने पक्का भएको छ । गत संविधानसभा चुनावमा काठमाडौं र रौतहटबाट चुनाव लडेका नेता नेपालले उपनिर्वाचनमा काठमाडौं छाडेका थिए । माओवादी केन्द्रसँगको चुनावी तालमेलका कारण नेपाललाई काठमाडौं २ मा चुनाव जित्न सहज हुने एमालेका कतिपय नेताको विश्लेषण छ ।

अर्का बरिष्ठ नेता झलनाथ खलान गृहजिल्ला इलाम १ बाट चुनाव लड्ने तयारीमा छन् । संविधानसभाका दुईवटै चुनावमा उनी इलामबाट विजयी भएका थिए । संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवास नेम्वाङ पनि गृहजिल्ला इलामबाटै चुनाव लड्ने तयारीमा छन् । उनीपनि संविधान सभाका दुइवटै चुनावमा इलामबाट प्रत्यक्ष निर्वाचित भएका थिए । नेम्वाङ इलाम २ बाट चुनाव लड्ने पक्का भएको छ ।

उपाध्यक्ष बामदेव गौतमले बर्दिया १ बाट चुनाव लड्ने तयारी गरेका छन् । गत संविधानसभा चुनावमा उनी बर्दिया र प्युठानबाट चुनाव जितेका थिए । अर्का उपाध्यक्ष भीम रावल अछामबाट चुनाव लड्ने तयारी गरेका छन् । उनी गत संविधानसभामा अछाम १ बाट निर्वाचित भएका थिए । गौतम र रावलको नाममा कसैको विरोध छैन् ।
उपाध्यक्ष युवराज ज्ञवाली दाङबाट चुनाव लड्ने तयारीमा छन भने अर्की उपाध्यक्ष अष्ठलक्ष्मी शाक्य काठमाडौंबाट चुनाव लड्ने तयारीमा छिन् ।

महासचिव इश्वर पोखरेल भने काठमाडौं ५ बाटै चुनाव लड्ने पक्का भएको छ । संविधान सभाका दुइवटै चुनावमा उनी सोही क्षेत्रबाट पराजीत भएका थिए । यसअघि कांग्रेसका नरहरि आचार्य विजयी भएको क्षेत्रमा यसपटक कांग्रेसबाट डा प्रकाशशरण महत उठ्दैछन् ।

उपमहासचिव घनश्याम भुसाल र विष्णु पौडेल क्रमस रुपन्देही १ र २ बाट चुनाव लड्ने तयारीमा छन् । संविधानसभाका दुइवटै चुनावका प्रत्यक्ष निर्वाचित पौडेलले गत चुनावमा तत्कालिन माओवादी नेता डा बाबुराम भट्टराइलाई पराजीत गरेका थिए । भुषाल भने कांग्रेसका बालकृष्ण खाडसंग झिनो मतले पराजीत भएका थिए । कांग्रेस नेता खाण यसपटक समानुपातिकको सूचीमा परेका छन् ।

सचिव प्रदीप ज्ञवाली र गोकर्ण विष्ट गृहजिल्ला गुल्मीबाट चुनाव लड्ने तयारीमा छन् । ज्ञवाली क्षेत्र नम्बर १ र विष्ट क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फ सिफारिश भएका छन् । विष्ट प्रदेश नम्बर ५ बाट मुख्यमन्त्रीको उम्मेदवार बन्ने पनि चर्चा थियो ।

अर्का सचिव योगेश भट्टराई ताप्लेजुङबाट उम्मेदवार बन्ने पक्का भएको छ । यसअघि काठमाडौं ६ बाट चुनाव लड्दै आएका भट्टराइले आफ्नो मतदाता नामावली यसपटक गृहजिल्ला ताप्लेजुङमा सारेका छन् । शुरुमा उनको नाम प्रदेशको मुख्यमन्त्रीको रुपमा चर्चामा थियो । प्रदेश नम्बर १ मा मुख्यमन्त्रीको दावेदारको रुपमा एमालेले शेरधन राईलाइ अगाडी सार्दैछ ।

अर्का सचिव भीम आचार्य सुनसरीबाट चुनाव लड्ने तयारीमा छन् । उनी संविधान सभाका दुइवटै चुनावमा सुनसरीबाट विजयी भएका थिए । सचिव पृथ्वी सुब्बा गुरुङ लमजुङबाट चुनाव लड्ने तयारीमा छन् ।

स्थायी समिति सदस्य शंकर पोखरेल दाङबाट चुनाव लड्ने तयारीमा छन भने अर्का सदस्य सुरेन्द्र पाण्डे चितवनबाट चुनाव लड्ने तयारीमा छन् । नेता राजेन्द्र पाण्डे धादिङबाट चुनाव लड्दै छन् ।

युवा नेता रवीन्द्र अधिकारी कास्की २ बाट चुनाव लड्ने तयारीमा छन् । संविधान सभाका दुइवटै चुनावमा प्रत्यक्ष निर्वाचित एका अधिकारीलाई प्रदेश नम्बर ४ बाट एमालेले मुख्यमन्त्रीको उम्मेदवार बनाउने चर्चा चलेको थियो ।
माओवादीसंगको चुनावी तालमेलका कारण एमालेले ४ र माओवादी केन्द्रले ३ वटा प्रदेशमा मुख्यमन्त्रीको दावी पेश गरेका छन् । महिला नेतृ शान्ता चौधरी प्रदेश सभाका लागि चुनाव लड्ने तयारी गरेकी छिन् ।

लालबावु पण्डित मोरङबाट चुनाव लड्ने तरखरमा छन् । नेकपा एमालेले केन्द्रीय स्तरका नेतालाई प्रत्यक्षमा उठाउने तयारी गरेको छ ।

दोस्रो चरणको मनोनयन कात्तिक १० मा गर्नुपर्ने भएकोले एमालेले एक दुइ दिनमै सम्पूर्ण उम्मेदवारको टुंगो लगाउने बताएको छ । पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा भागवण्डा मिलेपनि बाँकी क्षेत्रमा माओवादीसंग भागवण्डा मिलिनसकेको एमाले नेताहरु बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्