
काठमाडौँ, ४ कात्तिक- राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिएकी छिन् । राष्ट्रपति निवास शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टिका लगाएर भाइलाई आशिर्वाद दिँदै कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन् । भाई डेगेन्द्र पाण्डेले दक्षिणा प्रदान गरेर उनीसंग आशीर्वाद लिए ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नी बहिनी दुर्गादेवी चन्दबाट टीका लगाएका छन् । उनले भाइटीका पर्वको उपलक्ष्यमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान साइतमै बहिनी चन्दबाट टीका ग्रहण गरेका हुन् । टिका लगाइदिएपछि बहिनी चन्दले प्रधानमन्त्री देउवालाई कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरे ।
सो अवसरमा प्रधानमन्त्री देउवाले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गरे । संविधान कार्यान्वयनसँगै मुलुकमा स्थायी शान्ति र आर्थिक विकासतर्फ केन्द्रित हुन समेत सबै राजनीतिक दलका नेतालाई उनले आह्वान पनि गरे ।