
तीन वर्षअघि प्रहरी जवानमा भर्ती भएका दोलखाको मेलुङ गाउँपालिका– ४ का २२ वर्षीय अजित गोलेले अन्ततः कठिन बाटोबाट मृत्यु रोजे ।
बुधबार बिहान संघीय संसद् भवनमा ड्युटीका क्रममा शौचालयमा मृत फेला परेका गोलेको आत्महत्याका पछाडि एक युवतीको प्रसंग जोडिएको पाइएको छ ।
आफ्नै निधारमा इन्सास राइफल प्रहार गरी आत्महत्या गरेका गोलेसँग दुई दिनअघि सोमबार मात्रै युवतीसँग फेसबूक म्यासेन्जरमा लामो गफ भएको तथ्य प्रहरीले फेला पारेको छ ।
२०७८ मा प्रहरी जवानमा भर्ना भएका गोलेको पछिल्लो दरबन्दी कपनस्थित प्रहरीको केन्द्रीय विशेष कार्यदलमा थियो । उनी गत जेठ २८ जेठदेखि मात्रै संघीय संसद भवनमा कार्यरत थिए । ड्युटीका क्रममा गोलेले आफ्ना साथीहरूसँग पारिवारिक तनावमा रहेको सुनाएका थिए । तर, आत्महत्याकै संकेत भने गरेका थिएनन् ।
पाँच महिनाअघि मेलुङकै एक युवतीसँग विवाहका लागि ‘टीकाटालो’ भएको थियो । युवतीले आफू काम गर्न दुबई जाने र पैसा कमाएपछि जीवन सहज चल्ने बताएपछि गोलेले सञ्चय कोषबाट एक लाख रुपैयाँ झिकेका थिए । थप ५० हजार आमासँग मागेर डेढ लाख तयार पारी राहदानी समेत बनाइदिएर युवतीलाई दुबई पठाए ।
युवती दुबई पुगेपछि केही साता गोलेसँग निरन्तर सम्पर्कमा थिइन् । बीचमा युवतीसँग फोन सम्पर्क कम हुन थालेपछि गोले तनावमा थिए । उनले युवतीलाई थुप्रै म्यासेज पठाएको देखिन्छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार ती युवतीलै अर्कै पुरुषसँग सम्बन्ध गाँसेको आशंका गोलेलाई भएको देखिन्छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार उनको म्यासेजबाट त्यसको पुष्टि हुन्छ ।
‘अब तिमीलाई त्यही केटा भए पुगिहाल्यो नि, मलाई किन सम्पर्क गर्नु ? म मरेपछि तिमी खुशी हुन्छौ होला,’ उनको म्यासेज उद्धृत गर्दै ती अधिकृतले भने ।
फेसबूक म्यासेन्जरमा गोलेले निरन्तर म्यासेज पठाए पनि युवतीको जवाफ (रिप्लाइ) भने कमै आउने गरेको प्रहरीले जनाएको छ ।
‘तिम्रो इच्छा पूरा भइहाल्यो, अब मलाई किन वास्ता गर्नु ?’ भनेर गोलेले युवतीलाई म्यासेज पठाएका थिए । ‘उनी विगत डेढ महिनादेखि धेरै तनावमा रहेको युवतीलाई पठाएको म्यासेजबाट देखिन्छ,’ एक अनुसन्धान अधिकृतले लोकान्तरसँग भने, ‘उनले मर्छु भनेर युवतीलाई पटक–पटक म्यासेज गरेका रहेछन् ।’
सामान्य परिवारमा जन्मिएका गोले आफ्नो परिवारसँग पनि निरन्तर सम्पर्कमा थिए । युवतीले गोलेको परिवारका सदस्यसँग पनि कुराकानी गर्न छाडेपछि परिवारले उनलाई युवतीबारे सोध्ने गरेको पाइएको छ ।
बुधबार बिहान संसद् भवन पश्चिमतर्फ २ नम्बर गेटको बायाँ साइडमा रहेको शौचालयमा गोले मृत भेटिएका थिए । स्रोतका अनुसार गोलेले युवतीले दिएको तनावबारे प्रहरीमै कार्यरत एक/दुई साथीसँग समेत कुरा गरेको पाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार गोलेले पारिवारिक तनावकै कारण आत्महत्या गरेको आशंका छ ।
‘गोलेले मृत्यु रोज्नुको कारणबारे उनको मोबाइलबाट केही तथ्य खुलेका छन् । शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल पठाएका छौं । थप अनुसन्धान हुँदैछ,’ अधिकारीले भने ।
अजितका काका प्रदीप गोले पनि प्रहरीमै छन् । काठमाडौंमै दरबन्दी रहेका उनी प्रहरी नायब निरीक्षक (सई) हुन् । भतिजो अजितले आत्महत्या गरेको थाहा पाएपछि उनी घटनास्थल संघीय संसद् भवनमा पुगेका थिए ।
त्यसक्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले पारिवारिक तनावकै कारण अजितले मृत्युको बाटो रोजेको बताएका थिए । ‘उसलाई अलिकति पारिवारिक तनाव थियो, अहिले यति भनौं, पछि बोलौंला,’ प्रदीपले भने, ‘प्रहरीले अनुसन्धान गर्दै होला, थप त्यतै बुझ्नुस् ।’