
नेपाली सेनाको कर्णेलको हवाला दिएर संगीता रायमाझी नाम गरेकी महिलाले प्रहरीको बर्दी च्यातेकी छिन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पार्किङको विषयलाई लिएर रायमाझी र प्रहरी सहायक हवल्दार रचना थापाबीच भनाभन भएको थियो ।
त्यही क्रममा रायमाझीले ‘बढ्ता हुन्छेस्, म कर्णेलको साली हुँ, तलाईं देखाइदिन्छु पख’ भन्दै हातपातमा उत्रिएकी थिइन् ।
रायमाझीले हातपात गर्दा सहायक हवल्दार थापाको भित्री वस्त्र नै देखिने गरी बर्दी च्यातिएको थियो ।
बिहीबार भएको यो घटना लगत्तै रायमाझीलाई पक्राउ गरेर प्रहरीहरूले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको कार्यकक्षमा पुर्याएका थिए ।
बस्नेतले दुवैको कुरा सुनेर आवश्यक कारबाहीका लागि पत्रसाथ रायमाझीलाई सिंहदरबार वृत्तमा बुझाउन निर्देशन दिए । अहिले रायमाझीलाई सिंहदरबार वृत्तमा राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी बस्नेतका अनुसार रायमाझीले आफूलाई सेनाको कर्णेलको साली भनेर चिनाएकी थिइन् ।
‘प्रशासनमा दैनिक सयौं सेवाग्राही आउँछन्, हामीले सकेसम्म काम सम्पन्न गराएर पठाउँछौं, आज अचानक प्रहरीको बर्दी नै च्यातिने गरी हातपात भएपछि कारबाही गर्न प्रहरीलाई पठाएका हौं,’ बस्नेतले लोकान्तरसँग भने, ‘महिला प्रहरीमाथि भित्री वस्त्र नै च्यातिने गरी हातपात हुनु राम्रो होइन ।’
बस्नेतले सहायक हवल्दार थापामाथि पनि अनुसन्धान हुने बताए । उनले भने, ‘हातपात हुने अवस्था कसरी सिर्जना भयो भन्नेतर्फ पनि अनुसन्धान हुन्छ ।’
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले सीडीओ कार्यालयबाट पत्रसाथ कारबाहीको लागि रायमाझीलाई बुझाइएकाले अनुसन्धान भइरहेको बताए ।
उनका अनुसार रायमाझीलाई कारबाहीका लागि अभद्र व्यवहारमा अनुसन्धान गर्न तीन दिनको म्याद लिइएको छ ।