
वासिङ्टन डीसी–अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले बिहीबार अमेरिकाले भारत र पाकिस्तानबीच प्रत्यक्ष छलफललाई समर्थन गर्ने बताएका छन् ।
उनले छलफलको गति, दायरा र चरित्र पनि दुई देशको आपसी समझदारीमा निर्धारण गर्नुपर्ने बताए ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएको र दुबै प्रधानमन्त्रीमा शान्ति प्रक्रिया शुरू गर्ने क्षमता रहेको विश्वास गर्ने अमेरिकी विशेषज्ञको प्रतिक्रियाबारे सोधिएको प्रश्नमा मिलरले भने, ‘हामी भारत र पाकिस्तान दुबैसँगको सम्बन्धलाई महत्त्व दिन्छौँ र यी देशबीचको प्रत्यक्ष छलफललाई समर्थन गर्छौँ । तर, गति, दायरा र चरित्र ती दुई देशहरूले निर्धारण गर्नुपर्छ, हामीले होइन ।’
जुन १० मा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको प्रधानमन्त्रीको रूपमा शपथ लिएकोमा बधाई दिएका थिए ।
यस्तै पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले पनि सामाजिक सञ्जाल एक्समामार्फत मोदीलाई शुभकामना दिएका थिए ।
‘तेस्रो पटक पदभार ग्रहण गरेकोमा मोदीजीलाई मेरो हार्दिक बधाई । हामी घृणालाई आशाले प्रतिस्थापन गरौं र दक्षिण एसियाका दुई अर्ब मानिसहरूको भाग्य निर्धारण गर्ने अवसरको उपयोग गरौँ,’ उनले भनेका थिए ।
नवाजको बधाईको जवाफमा प्रधानमन्त्री मोदीले उनको सन्देशको प्रशंसा गर्दै भारतका जनता सधैँ शान्ति, सुरक्षा र प्रगतिशील क्षेत्रका लागि उभिएको उल्लेख गरेका थिए ।