
वेस्ट इन्डिजमा टी–२० क्रिकेट विश्वकप खेलेर नेपाली क्रिकेटर सन्दीप लामिछाने शनिवार दिउँसो स्वदेश फर्किएका छन् ।
सन्दीपलाई स्वागत गर्न नेपाल क्रिकेट संघ (क्यान)का केही पदाधिकारी तथा उनका परिवारका सदस्य काठमाडौंको त्रिभुवन विमानस्थलमा पुगेका थिए ।
विश्वकपमा नेपालले समग्रमा राम्रो प्रदर्शन गरेको सन्दीपले बताए । उनले टोलीमा धेरै सुधारको जरुरी रहेको बताउँदै बिस्तारै राम्रो नतिजा दिनेमा विश्वस्त हुन समर्थकलाई आग्रह गरे ।

१० वर्षपछि विश्वकप खेलेको नेपाल ४ वटा खेलमा एउटा पनि नजिती नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।
पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको नेपालको श्रीलंकासँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । तेस्रो खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो ।
चौथो तथा अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित हुँदै नेपालले विश्वकप यात्रा टुंग्याएको थियो ।
यता लेग स्पिनर सन्दीपले भने अमेरिकाले भिसा नदिएका कारण वेस्ट इन्डिजमा भएका २ खेल मात्र खेल्ने अवसर पाए ।
सन्दीप दक्षिण अफ्रिकाविरुद्ध विकेटविहीन बनेका थिए । दोस्रो खेलमा बंगलादेशविरुद्ध २ विकेट लिँदै उनी टी–२० आई क्रिकेटमा १०० विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी र छिटो १०० विकेट पूरा गर्ने विश्वकै दोस्रो खेलाडी बने ।

बलात्कारको मुद्दामा गत जेठ २ गते सफाइ पाएपछि सन्दीप झण्डै ६ महिनापछि प्रतिस्पर्धामा उत्रिएका थिए ।
लामो समयपछि खेल्दा आफूलाई डेब्यू गरेको (पहिलो खेल खेलेको) अनुभव भएको बताए ।
‘धेरै लामो समयपछि क्रिकेट फिल्डमा पाइला राख्दा एकछिन त मलाई डेब्यू गरेजस्तो लागेको थियो । एकदमै कठिन परिस्थितिबाट म त्यहाँ (वेस्ट इन्डिज) गएको थिएँ । तर, राम्रो भयो,’ सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने ।
नेपाली टोलीका अरु सदस्य भने ३–४ दिनअघि नै स्वदेश फर्किएका थिए ।