२६ असार २०८३, शुक्रबार

जर्जिया र चेक गणतन्त्र बराबरीमा रोकिए, टर्की र पोर्चुगललाई फाइदा

असार ८, २०८१
काठमाडौं
जर्जिया र चेक गणतन्त्र बराबरीमा रोकिए, टर्की र पोर्चुगललाई फाइदा

जर्मनीमा जारी युरोकप फूटबल प्रतियोगिताअन्तर्गत शनिबार साँझ जर्जिया र चेक गणतन्त्रले बराबरी खेलेका छन् ।

शनिवार साँझ हमबर्गमा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

खेलमा पहिलो हाफको अतिरिक्त समयमा युरोकपको नवप्रवेशी टोली जर्जियाले अग्रता लिएको थियो । प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै जेर्गेस मिकापुटाड्जले गोल गरेका थिए । 

तर दोस्रो हाफमा चेक गणतन्त्र खेलमा फर्कियो । प्याट्रिक सिकले ५९ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि थप गोल हुन नसकेपछि दुवै टोलीले १–१ अंक बाँडे । यसको फाइदा १–१ खेल जितेका टर्की र पोर्चुगललाई भएको छ ।

पहिलो खेलमा पराजय भोगेकाले जर्जिया र चेक गणतन्त्र आज जित्नैपर्ने दबाबमा थिए । तर बराबरीको नतिजाले तेस्रो खेल झन् कठिन बनेको छ ।

समूह ‘एफ’अन्तर्गत पहिलो खेलमा टर्कीले जर्जियालाई हराएको थियो भने पोर्चुगलले चेक गणतन्त्रमाथि जीत निकालेको थियो । 

टर्की र पोर्चुगलको ३–३ अंक छ । यी २ टोली राति ९ः४५ बजे आमने–सामने हुँदैछन् । दुवै टोली आज जीत निकाल्दै दोस्रो चरणमा पुग्ने लक्ष्यमा छन् । बराबरी खेले पनि अन्तिम १६ मा जाने सम्भावना प्रबल नै रहन्छ । तर तेस्रो खेल निर्णायक हुनेछ । 

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले पहिलो खेलमा २–१ गोल अन्तरको संघर्षपूर्ण जीत निकालेको थियो । आज पनि जीतकै नतिजा आए उ अन्तिम १६ मा पुग्नेछ ।

यस्तै मध्यराति १२ः४५ बजे बेल्जियम र रोमानिया आमने–सामने हुँदैछन् । पहिलो खेलमा स्लोभाकियासँग पराजित भएकाले राम्रो नतिजा निकाल्नुपर्ने दबाबमा छ ।  

समूह ‘ई’मा बेल्जियमबाहेक रोमानिया, युक्रेन र स्लोभाकिया सबैले ३–३ अंक जोडेका छन् । फिफा वरीयताको तेस्रो स्थानमा रहेको बेल्जियम भने अंकविहीन छ । अन्तिम १६ मा जाने आशा कायमै राख्न उसले आजको खेल जित्नैपर्ने छ ।  

  
 

salt training

कमेन्ट गर्नुहोस्