२१ जेठ २०८३, बिहीबार

एउटै सामुदायिक विद्यालयका दुई छात्रको ‘फोर जीपीए’

असार १३, २०८१
बुटवल
एउटै सामुदायिक विद्यालयका दुई छात्रको ‘फोर जीपीए’

पूर्वी नवलपरासीको एक सामुदायिक विद्यालयबाट दुईजना छात्रले ४ जीपीएसहित माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन् । जिल्लाको मध्यविन्दू नगरपालिका वडा नम्बर–७ चोरमारास्थित नवजागरण नमूना माविका छात्रद्वय प्रतीक ज्ञवाली र सौगात पोखरेल ‘फोर जीपीए’ ल्याएर एसईई उत्तीर्ण भएका हुन् । 

विगतमा पनि दुवैजना कक्षा प्रथम र द्वितीय हुँदै आएका थिए । 

विद्यालयका प्रधानाध्यापक हरिप्रसाद देवकोटाले १५० जना विद्यार्थी परीक्षामा सहभागी भएमध्ये प्रतीक र सौगातले चार जीपीए ल्याएको जानकारी दिए । ‘हामीले विगतका वर्षहरूमा ३.९५, ३.९६ जीपीए ल्याउने गरेका थियौं,’ उनले लोकान्तरसँग भने, ‘यो वर्ष दुईजना मेधावी छात्रले चार जीपीए ल्याएका छन् । यसले विद्यालयसँगै जिल्लाको समेत गौरव बढाएको छ ।’ 

प्रतीक मध्यविन्दू–६ टाँडी र सौगात वडा नम्बर–१५ घयुरानका हुन् । उनीहरू जिल्लाका परीक्षा र अन्य अतिरिक्त क्रियाकलापमा पनि सधैँ अब्बल हुँदै आएको प्रअ देवकोटाले बताए ।

विद्यालयमा साधारण र प्राविधिक धारको पढाइ हुँदै आएको छ । परीक्षामा यो वर्ष ‘ए प्लस’ १५, ए ग्रेड २५ र ‘बी प्लस’ ३२ सहित ८२ जना विद्यार्थीले कक्षा ११ र १२ पढ्न पाउने गरी उत्तीर्ण गरेको प्रअ देवकोटाले जानकारी दिए । चार जीपीए ल्याएको खुसीयालीमा विद्यालय शुक्रबार विजय र्‍याली गर्ने तयारीमा जुटेको छ । 

शिक्षा विकास तथा समन्वय इकाईका अनुसार २०८० को एसईईमा पूर्वी नवलपरासीबाट ६ हजार ११५ विद्यार्थी सहभागी थिए । जसमध्ये २ हजार ९६८ उत्तीर्ण भएका छन् । जिल्लामा रहेका १३९ माध्यमिक विद्यालयमध्ये ८९ सामुदायिक विद्यालय हुन् । यो वर्ष प्रतीक र सौगातबाहेक अरुले चार जीपीए ल्याउन सकेका छैनन् । 
 

salt training

कमेन्ट गर्नुहोस्