
पूर्वगृहमन्त्री एवम् सत्तारुढ दल नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई शुक्रवार पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले लोकान्तरलाई जानकारी दिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले प्रतीकलाई काठमाडौंको कपनबाट समातेको हो । कपनमा रहेको सूचना पाएसँगै प्रहरीले छापा मार्दा उनी पक्राउ परेका हुन् ।
गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे र प्रतीकको सेटिङमा अमेरिकामा शरणार्थी भएर जाने चाहनेहरूसँग लाखौं रुपैयाँ असुली भएको थियो ।
बाबु गृहमन्त्री भएका बेला नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रयोजनमा लाखौं रुपैयाँ उठाएर ठगी गरेको उजुरी उनीमाथि छ ।
प्रहरी अनुसन्धानमा पनि प्रतीकले लाखौं रुपैयाँ बुझेको खुलेको छ ।
पक्राउ पुर्जी जारी भएपनि प्रतीक लामो समय राजनीतिक आडमा उम्किँदै आएका थिए । अन्ततः उनी पक्राउ परेका हुन् ।
गृह सचिव र प्रहरी महानिरीक्षक अमेरिकामा रहेका बेला उनी पक्राउ पर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यस प्रकरणमा एमाले नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृह सचिव पाण्डेलगायत थुनामा छन् । रायमाझीलाई एमालेले पार्टीबाट निलम्बन गरिसकेको छ ।
पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाण भने धरौटीमा छुटेका थिए ।