
काभ्रेपलाञ्चोकको मुख्य व्यापारिक केन्द्र बनेपा नगरपालिका–६ बुडोलमा यातायात व्यवस्था कार्यालय सञ्चालनमा आएको छ ।
नगरपालिकाले निर्माण गरेको सपिङ कम्पलेक्समा रहेको कार्यालयको बागमती प्रदेश सरकारका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले आज एक कार्यक्रमकाबीच उद्घाटन गरे ।
बनेपा भएर छिमेकी देशहरूसँगै सीमा जोडिने बिपी राजमार्ग र अरनिको राजमार्ग भएको कारण यहाँ कार्यालय स्थापना गर्नु अतिआवश्यक भएको मन्त्री लम्सालले बताए ।
विभागलाई नमूना कार्यालय बनाउन कर्मचारीले मेहनत गर्नुपर्ने र गुनासो नआउने गरी काम गर्न कर्मचारीलाई मन्त्री लम्सालले निर्देशन दिए ।
प्रदेश सरकारले रोजगारी सिर्जनाको कार्यक्रम अघि बढाएको बताउँदै उनले त्यसका लागि ठोस कार्यक्रमसहित अघि बढ्न बजेटमा व्यवस्था गरेको बताए ।