०३ साउन २०८३, आइतबार
सुन तस्करीको दोस्रो चरणको अनुसन्धान

एउटै गिरोहबाट झण्डै ३२ सय किलो सुन तस्करी, ३० अर्बमाथिको कारोबार !

असार १६, २०८१
काठमाडौं
एउटै गिरोहबाट झण्डै ३२ सय किलो सुन तस्करी, ३० अर्बमाथिको कारोबार !

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६० किलो ६१७ ग्राम सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ ।

अहिले अनुसन्धान प्रतिवेदनलाई पूर्णता दिने काम भइरहेको सीआईबीले जनाएको छ ।

यसअघि पहिलो चरणको अनुसन्धान पूरा गरी गत असोज १ गते २९ जनाविरुद्ध ३ अर्ब ३० करोड ३० लाख रुपैयाँ बिगो तथा जरिवानाको मागसहित जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा मुद्दा समेत चलिसकेको छ ।

गत वैशाखबाट शुरू भएको दोस्रो चरणको अनुसन्धानमा हालसम्म भारतीय नागरिकहरू बैजनाथ महादत्त गोयलसहित २० जना पक्राउ परेका छन्, जसमा प्रशान्त गणेश वजवलकर, सिद्धनाथ अशोक गायकवाड, धीरज दिनेशवैट, पर्सा वीरगन्ज–११ का सुरेन्द्रमान श्रेष्ठ, भक्तपुर सूर्यविनायक–५ का राजु खत्री, मध्यपुर–१५ का सुशील जाकिबन्जा, काभ्रेपलाञ्चोक तेमाल–४ का कान्छा लामा, नमोबुद्ध–१० का भीमप्रसाद तिमल्सिना, भुम्लु–१ का रूपक भण्डारी, काठमाडौं महानगर– ७ का प्रज्ज्वल आचार्य, काठमाडौंकै सुविधानगरका सुरजशमशेर जबरा, बाफलका कश्यप मानन्धर, गुल्मी सत्यवती–१ का लालबहादुर कुँवर, बारा जितपुर– १९ का अरुणकुमार यादव, तिब्बतीयन नागरिक गङ्गा टासी तथा सेराप भन्ने सोनम गुरुङलगायत छन् । 

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीका अनुसार पक्राउ परेकाविरुद्धको अनुसन्धान प्रतिवेदन यही साता बुझाउने तयारी छ । 

दोस्रो चरणको अनुसन्धानमा सुन तस्करी गर्ने, गलाउने, ओसारपसार गर्ने, खरिद तथा बिक्री गर्ने, रकम व्यवस्थापन गर्ने र नेपालमा सञ्चालित भुक्तानी सेवा प्रदायक संस्थाहरू ‘पेवेल नेपाल प्रालि’ र ‘सजिलो पेमेन्ट सर्भिसेज प्रालि’मा हुन्डीमार्फत रकम पठाएर अर्बौंको कारोबार गर्नेहरूमा केन्द्रित तथ्य प्रतिवेदनमा समेटिएको छ । 

सीआईबीका एक अनुसन्धान अधिकृतका अनुसार दोस्रो चरणको अनुसन्धान गर्दा यो गिरोहले ३ हजार १ सय ९४ किलो सुन तस्करी गरेको पाइएको छ, जसको मूल्य ३० अर्ब हाराहारीको देखिन्छ ।

सुनसँगै जोडिएर यो गिरोहले पेवेल र सजिलो पेमार्फत एक वर्षको अवधिमा १ खर्ब ८ अर्ब कारोबार गरेको देखिएको छ, जसअनुसार पेवेलले ८२ अर्ब र सजिलो पेले २६ अर्बको कारोबार गरेको प्रमाणले पुष्टि भएको सीआईबीका प्रवक्ता बोगटीले बताए । 

एसपी बोगटीका अुनसार पक्राउ मध्येका बैजनाथले ब्रेक सु, भेपलगायत विभिन्न माध्यमबाट तस्करीका रूपमा नेपाल भित्रिएको सुनलाई गलाउँदै आएका थिए ।

सुरेन्द्रमानले भने उक्त सुनलाई भारतमा पठाउने भूमिका खेलेका थिए । भारतीय नागरिक प्रशान्त गणेशले तस्करीको सुन न्युरोडलगायत विभिन्न पसलमा बिक्री गर्दै आएको सीआईबीले जनाएको छ । 

पक्राउ परेकामध्ये धिरज दिनेश र अशोक गायकवाडेले तस्करीको सुनको भुक्तानी सजिलो पे र पेवेलमार्फत गर्दै आएको जानकारी बोगटीले दिए ।

चिनियाँ नागरिक गंगा टासीले चीनबाटै सुन ओसार्ने र कान्छाले सुनको भरियाका रूपमा काम गर्दै आएको अनुसन्धानबाट खुलेको छ । 

सीआईबीका अनुसार भारतीय नागरिक सिद्धनाथको मोबाइलमा भएका विवरण फरेन्सिक प्रयोगशालाबाट रिकभर गर्दा २ मिनेटको अडियो फेला परेपछि अनुसन्धान थप सहज बनेको थियो । अडियोमा ‘पैसा यूएसडी वा क्रिप्टोमा हाल्नू, नसके पेवेलमा हाल्नू,’ भनिएको थियो ।

पक्राउ परेकाविरुद्ध संगठित अपराध, सुनको चोरीपैठारी र केहीलाई बैकिङ कसुरमा मुद्दा चलाउन सिफारिश गर्ने तयारी सीआईबीले गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्