भारतीय क्रिकेट टीमका कप्तान रोहित शर्मा, चर्चित ब्याट्सम्यान विराट कोहलीसँगै अलराउन्डर रवीन्द्र जडेजाले पनि अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत जडेजाले संन्यासको घोषणा गरेका हुन् ।
'मनदेखि नै आभार व्यक्त गर्दै टी-ट्वान्टी अन्तर्राष्ट्रिय म्याचलाई अलबिदा भन्न चाहन्छु । घोडाको जस्तो दृढताका साथ मैले हमेसा आफ्नो देशका लागि सर्वोत्कृष्ट दिने प्रयास गरें । अन्य संरचनाका क्रिकेटमा मेरो त्यो प्रयास जारी नै रहनेछ ,' जडेजाले इन्स्टाग्राममा लेखेका छन्, 'टी-ट्वान्टी विश्वकप जित्नु सपना साकार हुनु हो । यो मेरो टी-ट्वान्टी अन्तर्राष्ट्रिय करियरको शिखर पनि हो । सम्पूर्ण यादहरू, उत्साह र अटुट समर्थनका लागि धन्यवाद भन्न चाहन्छु ।'
सन् २००९ मा टी-ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका जडेजाले कुल ७४ खेल खेले । यसक्रममा उनले १२७.१६ को स्ट्राइक रेटमा ५१५ रन बनाउनका साथै ५४ विकेट लिएका छन् ।
कोहली र रोहितले शनिबार दक्षिण अफ्रिकालाई हराएर विश्वकप जितेलगत्तै संन्यासको घोषणा गरेका थिए ।