
उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रहितलाई केन्द्रमा राखेर बढ्दो भूराजनीतिको विश्लेषण जरुरी रहेको बताएका छन् ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले देश र जनताको आधारभूत हितलाई ध्यानमा राख्दै विकास साझेदार लगायत विश्व समुदायसँग सम्बन्ध राख्ने तथा विकसित भूराजनीतिक घटनाक्रमको मापन हुनुपर्ने बताए ।
‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्थायित्व र राष्ट्रिय स्वतन्त्रताका लागि कूटनीतिनै पहिलो र अन्तिम प्रतिरक्षा को माध्यम हो,' उनले भने ।
परराष्ट्रमन्त्री श्रेष्ठले देशका कूटनीतिज्ञ तथा कूटनीतिसँग सम्बन्धित संस्थाहरूको क्षमता अभिवृद्धि गर्न ठोस प्रयास हुनुपर्ने बताए ।
जलवायु परिवर्तन, साइबर र ऊर्जा सुरक्षा, अन्तर्राष्ट्रिय सङ्गठित अपराध, कृतिम बौद्धिकता जस्ता नविन र विकास हुँदै गरेका चुनौतीका कारण अन्तर्राष्ट्रिय सहयोग र संवादको दायरा थप फराकिलो भएको उनको भनाइ थियो ।
भूराजनीतिक प्रतिस्पर्धा तथा नयाँ संवेदनशील मुद्दाहरूका कारण कूटनीतिज्ञको महत्त्व झनै बढेको धारणा उनले बताए ।
‘नयाँ चुनौतीहरूको सामना गर्न हामीसँग अझै बढी कूटनीतिक दक्षता र निपूर्णता हुनुपर्छ,’ उनले भने ।