२५ जेठ २०८३, सोमबार

गिरिजाप्रसाद कोइरालाको १००औँ जन्म शताब्दी मनाइँदै

असार १८, २०८१
काठमाडौं
गिरिजाप्रसाद कोइरालाको १००औँ जन्म शताब्दी मनाइँदै

नेपालमा तत्कालीन माओवादीलाई सशस्त्र द्वन्द्वको अन्त्यगरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
 
विसं १९८१ असार १८ गते पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको गर्भबाट उनको जन्म भएको थियो । विसं २००४ मा विराटनगर जुटमिलमा भएको मजदुर आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका कोइराला २०५३ वैशाख २९ गतेदेखि नेपाली कांग्रेसको सभापति निर्वाचित भएका थिए । 

उनी कांग्रेसको पाँचौँ सभापति बनेका थिए  । कोइराला २०६६ चैत ७ गतेसम्म कांग्रेसको सभापति रहे । विसं २०४८, २०५५ र २०५६ मा गरी उनी २०६२/२०६३ को आन्दोलनअघि तीनपटक प्रधानमन्त्री बनेका थिए ।
 
विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी आफू अनुकूल प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको मोहभङ्ग हुन थालेको थियो । 

यसपछि भएका आन्दोलनको नेतृत्व गिरिजाप्रसादले गरेका थिए । विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै राजा ज्ञानेन्द्र आफैं मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृत्वमा पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्व गरेका थिए । 
 
कोइरालाकै नेतृत्वमा विसं २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्रअनुरूप विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न सहमत भएका थिए । जसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ । आन्दोलन सफल भएपछि उनी चौँथोपटक प्रधानमन्त्री बनेका थिए । पुनःस्थापित प्रतिनिधिसभाले २०६३ जेठ ४ गते राजाको सबै अधिकार कटौती गर्दै आलङ्कारिक राजाका रूपमा सीमित गरेको थियो ।
  
कोइरालाकै नेतृत्वमा माओवादी जनसेनाको समायोजनसहित हतियार व्यवस्थापन भएको थियो । 

चारपटक प्रधानन्त्री बनेका कोइरालाले कार्यवाहक राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हालेका थिए । राजा ज्ञानेन्द्र निलम्वनमा परेसँगै कोइरालाले कार्यवाहक राष्ट्राध्क्षको भूमिका निर्वाह गरेका थिए । उनकै नेतृत्वमा २०६५ जेठ १५ गते नेपालबाट दुई सय ४० वर्षको इतिहास बोकेको शाह वंशीय राजसंस्थाको अन्त्य भई नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित भएको हो । कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो । 
 
नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्‍याएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरी कोइरालाको १००औँ जन्मजयन्ती मनाउँदै छन् । 

यस अवसरमा कांगे्रसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले आज पार्टी केन्द्रीय कार्यालयमा ‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक तस्बिर प्रदर्शनी आयोजना गर्दैछ ।

प्रदर्शनीमा गिरिजाप्रसाद कोइरालाका जीवनीका तस्बिर राखिने र विमर्श कार्यक्रमसमेत गरिने जनाइएको छ । प्रदर्शनीको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । 

salt training

कमेन्ट गर्नुहोस्