
नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार गठन गर्ने सहमति भएको भोलिपल्टै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा गर्न आग्रह गरेका छन् ।
मंगलबार बिहान प्रचण्डलाई बालुवाटारमा भेटेर ओलीले मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।
ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको र सहभागी हुन आग्रह गरेको स्रोतले बतायो ।
‘नयाँ ढंगले जाने गरी सहमति भइसक्यो । तपाईंले अलमल गर्नुभन्दा मार्ग प्रशस्त गर्नु उपयुक्त हुन्छ,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
कांग्रेस र एमालेबीच ओलीको नेतृत्वमा सरकार गठन गर्ने गरी सोमबार मध्यराति सहमति भएको थियो ।
सो सहमतिअनुसार प्रचण्डलाई राजीनामा गर्न सुझाव दिन ओली मंगलबार बिहान बालुवाटार गएका थिए ।
प्रचण्डले भने यही गठबन्धनबाट प्रधानमन्त्री बन्न ओलीलाई पुनः आग्रह गरेका छन् ।
ओलीसँगको भेटपछि बसेको माओवादी पदाधिकारी बैठकले राजीनामा नगर्ने बरु संसद् फेस गर्ने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।