
बीमा रकमको लोभमा आफ्नै पसल लुटपाटको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् ।
असार १ गते साँझ चितवनको कालिका नगरपालिका-६ खोलेसिम लस्थित विनोद सुनचाँदी पसलमा लुटपाट गरेको आरोपमा पसलका सञ्चालकसहित पाँच जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा विनोद सुनचाँदी पसलका सञ्चालक कालिका नगरपालिका–६ का ३५ वर्षीय विनोद सुनार, चोरी गर्न सहयोग गर्ने पसलका व्यवस्थापक कालिका नगरपालिका-७ का २५ वर्षीय विजय विश्वकर्मा, चोरी गर्ने म्याग्दी गाउँपालिका-७ का ५० वर्षीय पूर्णबहादुर विश्वकर्मा र बारागढी नगरपालिका-४ का १८ वर्षीय पवनकुमार पासवान एवं चोरी भएको सामान लुकाउन सहयोग गर्ने कालिका–६ का ४२ वर्षीय अञ्जना पुडासैनी केसी रहेका छन् ।
लुटपाटको मुख्य योजनाकार पसल सञ्चालक, चोरी गर्न सहयोग गर्ने र सामान लुकाउन सहयोग गर्ने व्यक्तिलाई प्रहरीले पक्राउगरी सार्वजनिक गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरोरोको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको हो ।
पसल सञ्चालक विनोद स्वयंले झुटा चोरी तथा लुटपाट गर्ने योजना बनाई बीमा रकम ठगी तथा विभिन्न व्यक्तिबाट लिएको ऋण रकम जालसाजी गरी फाइदा लिने मनसायले लुटपाट गर्न लगाएको अनुसन्धानबाट खुलेको छ ।
बीमा दाबी गर्न पसल सञ्चालक आफैँले घटना गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भावेष रिमालले बताए ।
मोटरसाइकलमा चोरी गर्न आउने व्यक्तिलाई प्रलोभनमा पारेर घटना गराएको देखिएको उनले बताए । धारिलो हतियार खुकुरी र चक्कु घाँटीमा राखी डरत्रास देखाइ पसलबाट दुई करोड १७ लाख ५४ हजार चार सय १५ बराबरको सुनचाँदीका गहना चोरी भएको पसल सञ्चालकले दाबी गरेका थिए ।
चोरी भएको सुनको गुणस्तर परीक्षण हुन बाँकी छ । पक्राउ परेकामाथि थप अनुसन्धान गर्न प्रहरीले चितवन जिल्ला अदालतबाट छ दिनको म्याद पाएको छ ।