त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा यात्रुबाहक गाडीको उद्धार र समस्या उत्पन्न भएको छ । मुग्लिन–नारायणगढ सडकखण्डमा ठूलो पहिरो गएका कारण गोताखोर घटनास्थलमा पुग्न नसकेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
खोज तथा उद्धारका लागि उक्त स्थानमा सशस्त्र प्रहरीको १७ नम्बर गण चितवनबाट ३५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ गोताखोरसहित २० जना परिचालन गरिएपनि उनीहरू घटनास्थल पुग्न कठिनाइ भएको हो ।
अविरल वर्षासँगै आएको पहिरोले शुक्रवार बिहान लामो दूरीमा चल्ने दुईवटा गाडी बगाएको छ । पर्साको वीरगञ्जबाट काठमाडौं आउँदै गरेको माइक्रो बस (विङ्गर गाडी) र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सको बस बगेर नदीमा बेपत्ता भएका हुन् ।
भरतपुर महानगरपालिका २९ स्थित सिमलतालमा शुक्रवार बिहान ३ बजे उक्त घटना भएको सशस्त्रका सहप्रवक्ता डीएसपी थापाले जानकारी दिए ।
गौर जाँदै गरेको बसमा करिब ४०–४१ जना तथा वीरगञ्जबाट आउँदै गरेको माइक्रोमा २०–२१ जना यात्रु सवार थिए । बस र माइक्रो पूरै नदीमा डुबेको भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको प्रवक्ता थापाले बताए । उनका अनुसार यात्रुहरूको अवस्था अज्ञात रहेको छ
पहिरोका कारण पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नारायणगढ सडक अवरुद्ध रहेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।