
कास्कीको पोखरामा पहिरोले घर पुरिएर सात जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका– १९ पुरनचौरमा बिहीवार राति १०ः२० बजे भएको घटनामा सात जनाले ज्यान गुमाएका हुन् ।
पहिरोमा पुरिएर अन्य दुईजना घाइते भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
सशस्त्रको २४ नम्बर कालिका गणबाट २५ जना, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली घटनास्थलमा खटिएर उद्धार कार्य जारी रहेको उनले बताए ।
मृत्यु हुनेमा ४७ वर्षीय कुलबहादुर परियार, उनकी श्रीमती ४३ वर्षीया मनकुमारी, आमा ८५ वर्षीया लक्षिमा, छोरी १५ वर्षीय प्रश्ना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र तल्लाकोट बस्ने राधिका परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।