
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकखण्डको पहिरोमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । पहिरोमा परी करिब ६ दर्जन भन्दा बढी यात्रुको अवस्था अज्ञात रहेको भन्दै देउवाले क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
‘नारायणगढ—मुग्लिन सडकको सिमलतालमा लेदो सहितको पहिरोमा परेका दुबै बस त्रिशुली नदीमा आज बिहान खस्दा करीब ६ दर्जन भन्दा बढी यात्रुहरूको अवस्था अज्ञात रहेको घटना र अविरल वर्षाका कारण देशका विभिन्न भू–भागमा बाढी, पहिरो र डुवानमा परी भएको जनधनको ठूलो क्षतिप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ,’ देउवाका तर्फबाट केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘युद्धस्तरमा उद्धार, हराएकाहरूको खोजी, नागरिकहरूलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न समेत सभापति देउवाले सरकारलाई आग्रह गर्नुभएको छ ।’
देउवाले बाढी पहिरोको जोखिम थप बढ्ने भन्दै तीनवटै तहका सरकारले प्रभावकारी समन्वय र व्यवस्थित योजना बनाएर काम गर्न माग गरेका छन् ।
‘बाढी पहिरोको जोखिम थप बढ्न सक्ने अवस्था दृष्टिगत गरेर देशभर सबैलाई सजग भएर यसको सामना गर्न आग्रह गर्दै तीन वटै तहका सरकारहरूलाई समन्वय र व्यवस्थित योजना साथ आवश्यक सम्पूर्ण तयारीका साथ कार्य गर्न सभापति देउवाले अपील गर्नु भएको छ’ देउवाले भनेका छन् ।
देउवाले स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन पनि दिएका छन् ।
‘पार्टीका साथीहरूलाई व्यवस्थित ढंगले प्रभावकारी रुपमा कार्य गर्न आग्रह गर्दै यो विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबै दिदीबहिनी–दाजुभाइमा उहाँले अपील गर्नु भएको छ’ विज्ञप्तिमा भनिएको छ ।