माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
काठमाडाैं | असार ३०, २०८१
एक हजार ९९ दिन अर्थात् ३ वर्ष ३ दिनपछि तेस्रो कार्यकाल (प्राविधिकरूपमा चौथो)को प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली सोमवार सिंहदरबार प्रवेश गर्दैछन् । आइतवार प्रधानमन्त्री नियुक्त ओलीले सोमवार बिहान शपथ लिएर सिंहदरबारमा कार्यभार सम्हाल्दै छन् । सरकारी लिखतमा ओलीको कार्यकाल चौथो नै होला, व्यवहारिक रूपमा तेस्रोभन्दा उपयुक्त होला ।
नयाँ संविधान जारी भएलगत्तै २०७२ साल असोज २५ गते पहिलोपटक र २०७४ साल फागुन ११ गते ओली दोस्रोपटक प्रधानमन्त्री बनेका थिए । नेकपा विभाजनपछि २०७८ वैशाख ३० गते ओली तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका थिए । दोस्रो कार्यकालको निरन्तरताको रूपमै ओलीको तेस्रो कार्यकाल छोटो थियो ।
संसद्को प्रमुख दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेर ओली तीन वर्षपछि सिंहदरबार प्रवेश गर्दैछन् । संयोग कस्तो परेको छ भने २०७८ असार २८ गते सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट हटेका ओली तीन वर्षपछि असार २८ गतेकै दिन प्रधानमन्त्रीका लागि दाबी पेश गरेका थिए ।
बालुवाटारबाट बालकोट पुगेका ओलीले ‘जनताले नभई अदालतमा मुद्दा हालेर’ हटाइएकोले सम्मानसाथ फेरि सिंहदरबार फर्किने घोषणा गरेका थिए । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा दोस्रो पार्टी बनेपछि सिंहदरबारमा पुग्ने एमालेको लक्ष पूरा हुन सकेन । तर, ओलीकै सदाशयता/आर्शिवादमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने ।
एमालेको समर्थनमा २०७९ पुस १० गते प्रचण्ड प्रधानमन्त्री बनेपछिका डेढ वर्षमा नेपालको राजनीतिमा अनेक प्रयोग भए । प्रचण्डको शब्दमा नेपालको राजनीतिमा नयाँ उथलपुथल भयो । जसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए, मुख्य सहयात्री दल ६२ दिनमै सरकार छाड्नु पर्ने अवस्था सृजना उनैले गरे । भलै प्रचण्डले यसलाई राष्ट्रिय सहमतिको वातावरण सृजना गर्ने बताउँदै आएका छन् ।
त्यसको झण्डै एक वर्षपछि २०८० फागुन २१ गते फेरि एमाले सरकारमा सहभागी भयो, तर त्यो धेरै लामो जान सकेन । २०८१ असार १९ गते एमाले फेरि सरकारबाट बाहिरियो र नयाँ समीकरण बन्यो ।
संसदीय राजनीतिको मोडले ओलीलाई फेरि एकपटक प्रधानमन्त्री बन्ने अवस्थामा पुर्यायो । स्मरणीय के छ भने– असारको दोस्रो सातासम्म पनि ओली फेरि आफूलाई प्रधानमन्त्री बन्ने रहर नभएको बताउँदै आएका थिए । भारतबाट फर्केपछि प्रचण्डले कांग्रेसँग सत्ता सहकार्यको प्रस्ताव गरेको भन्ने नेकपा एमालेको दाबीले होस् या फाइल खोल्न थालेपछि सरकार ढलेको भन्ने प्रचण्डको दाबी, जेसुकै भए पनि कांग्रेस र एमाले एक ठाउँमा उभिएर राजनीतिमा नयाँ घटनाक्रम विकसित भयो ।
पार्टी विभाजनको असर, सत्ता गठबन्धनको सामना, प्रतिनिधि सभा विघटनको अपजसजस्ता प्रतिकूल अवस्थामा पनि २०७९ मंसिरको चुनावमा ओलीले एमालेलाई कांग्रेस हाराहारीको पार्टी बनाउन सफल भएका थिए ।
२०७९ फागुनमा राष्ट्रपति चुनावको बहानामा एमालेलाई फेरि सत्ताबाहिर पुर्याएर एक्लाइएको अवस्थामा ओलीले २०८० फागुनमा राजनीतिक रूपमा कमब्याक गरे । २०८१ असारमा आउँदा त ओली गोल गर्न नै सफल भए ।
विगतका ती मानक, भविष्यका चुनौती
२०७२ असोजमा ओली प्रधानमन्त्री बन्दै गर्दा मुलुकले नाकाबन्दीको सामना गरिरहेको थियो । नयाँ संविधानमा आफ्नो असन्तुष्टि जनाउँदै तराई मधेशमा भइरहेको आन्दोलन तथा नाकाबन्दीले देश अस्तव्यस्त भइरहेको थियो । इन्धनको हाहाकारले राजधानी काठमाडौंमा दाउरा बाल्नुपर्ने अवस्था आएको थियो ।
त्यो नाकाबन्दी हटाउन ओलीले दह्रो अडान राखे, नाकाबन्दी नहटी भारत भ्रमण नगर्ने निर्णय गरे । त्यही बेला उत्तरी छिमेक चीनसँग पारवहनलगायत सम्झौता भयो । नाकाबन्दी हट्यो विस्तारै जनजीवन खुकुलो हुन लाग्यो ।
केही लोकप्रिय कार्यक्रमसहित सरकारले बजेट सार्वजनिक गर्यो । राजमार्गबाट सदरमुकामसम्मको बाटो पिच गर्नेलगायत केही दूरगामी कार्यक्रम ओली सरकारको पालमा शुरू भएको थियो । अहिले अर्थमन्त्रीको लागि बहुप्रतीक्षित बनेका विष्णु पौडेलले सोही बजेटमार्फत् आफूलाई एक सफल अर्थमन्त्रीको परिभाषा दिलाउन सफल भए ।
१० महिना नबित्दै ओलीले संसद्मा अविश्वासको प्रस्तावको सामना गर्नु पर्यो । संसद् सम्बोधनमार्फत् राजीनामा गरेर ओली सरकारबाट बाहिरिए । सरकारबाट बाहिरिए पनि राजनीतिक रूपमा उनले हाइट बढाए । ‘नाकाबन्दीसामु नझुकेर’ दह्रो अडान बनाएको प्रधानमन्त्री भन्दै उनको प्रशंसा भयो । त्यो बेला लिएको अडान ओलीका लागि राजनीतिक पूँजी भयो ।
नेकपा माओवादी केन्द्रसँग एउटै घोषणापत्र बनाएर चुनाव लडेका ओलीले २०७४ सालमा कम्युनिस्ट गठबन्धनलाई झण्डै दुई तिहाइ बहुमत नजिक पुर्याए । २०७४ फागुन ११ गते दोस्रो कार्यकालका लागि ओली प्रधानमन्त्री भए । लगत्तै माओवादीसँग पार्टी एकता गरेर नेकपा बनाए ।
तर, ओलीका लागि दोस्रो कार्यकाल पनि त्यति सुखद् रहेन । ओली प्रधानमन्त्री बनेको दोस्रो वर्षदेखि पार्टीभित्र विवाद सृजना भयो । नेकपाभित्रको विवाद यति उत्कर्षमा पुग्यो कि पार्टी विभाजनदेखि प्रतिनिधि सभा विघटनसम्मको अवस्था सृजना भयो । नेकपाभित्र ओलीलाई संसदीय दलको नेताबाट हटाउनेदेखि अध्यक्षबाट कार्वाही सम्मको निर्णय भयो ।
विश्वव्यापी रूपमा आएको कोरोना संकटको महामारी ओली सरकारले व्यहोर्नु पर्यो । संसद् विघटनको आरोपसहित ओली सरकारबाट बाहिरिए । शुक्रवार प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा प्रचण्डले अल्पमतमा पर्दा संसदै विघटन गर्न पछि नपर्ने भन्दै ओलीमाथि कटाक्ष गरे ।
चुलिएका जनअपेक्षा र गर्नुपर्ने काम
ओली जतिबेला प्रधानमन्त्री बनेका छन्, मुलुक एकप्रकारको फ्रस्टेसनमा छ । जनतामा बढ्दो निराशा, युवा पलायन, भ्रष्टाचार, शिथिल अर्थतन्त्र, बेरोजगारीजस्ता समस्याले मुलुक आक्रान्त बनेको छ । केही महिनाअगाडि सम्पादकहरूसँगको भेटमा निवर्तमान प्रधानमन्त्री प्रचण्डले भनेका थिए–‘युवा पलायन राष्ट्रिय विचलनजस्तो देखियो, नेपालमा ८० हजार कमाइरहेको पनि ८० लाख तिरेर अवैध बाटोबाट अमेरिका जान उद्यत छ ।’
प्रधानमन्त्री नभएको समयमा पनि ओलीले युवा पलायन, समाजमा देखिएको विचलन र भ्रष्टीकरणप्रति चिन्ता व्यक्त गर्दै आएका थिए । देशमा झांगिएका समस्या समाधानको जिम्मा ओलीको काँधमा आएको छ ।
संसद्मा सहज बहुमत जुटाए पनि चुलिएका जनअपेक्षा सम्बोधन गर्नेगरी काम गर्न ओलीका अगाडि कयौँ चुनौती छन् । देशको अर्थतन्त्र कति नाजुक अवस्थामा पुगेको छ भन्ने कुरा ओलीले २०८० साउन २८ गते पार्टी कार्यालयमा आयोजित कार्यक्रममा भनेका थिए– ‘अर्थतन्त्र डरलाग्दोगरी ओरालो लाग्दै छ । नेपालीहरूको आम्दानीले केही गर्न नसकिने अवस्था आउँदै छ, डेराबाट जसले आम्दानी गरिरहेको छ त्यो आम्दानीले केही समयपछि काम गर्न छोड्छ । डेरा भाडा बढाउन सक्ने स्थिति छैन । जसले तिरिरहेको छ उसको आम्दानीले तिर्न पुग्दैन । भोलि भयावह स्थित आउँदै छ । हामी सबै गम्भीर हुन जरूरी छ ।’
११ महिनाअघि ओलीले चित्रण गरेको अर्थतन्त्रको यो अवस्थामा तात्विक सुधार भएको छैन । कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्थाबाट नेपालको अर्थतन्त्र गुज्रिएको थियो । खस्किँदो मनोविज्ञानका कारण उद्योगीहरू खुलेर लगानी गरिरहेका छैनन् । जसका कारण बैंकमा तरलता थुप्रिएको छ, अर्थतन्त्र चलायमान बन्न सकिरहेको छैन र रोजगारी खुम्चिएका छन् । शहरमा मुख्य बजारका सटर धमाधम खाली भइरहेका छन् ।
यिनै चुनौतीको सामना गर्न कांग्रेस–एमाले गठबन्धन बनेर ओली प्रधानमन्त्री बनेका छन् । सम्भवतः संसद्को पहिलो र दोस्रो दलको सहकार्य दुर्लभ संसदीय अभ्यास हो । देश नै असफल बन्ने अवस्थाबाट जनताको आत्मविश्वास उकास्नु यो गठबन्धनको मुख्य कार्यभार हुनुपर्छ ।
तमाम् चुनौतीका बाबजुद ओलीका लागि कांग्रेसजस्तो भरपर्दो राजनीतिक पार्टी साझेदार हुनु अनुकूल हो । ओली नेपाली राजनीतिका त्यस्ता अपवाद पात्र हुन्, जसले जनताका समस्या आफै सुन्ने र अन्तर्क्रिया गर्ने गरेका छन् । पूर्वप्रधानमन्त्री भइकन पनि उनी कहिले मकै पोलिरहेकी महिलाका कुरा सुन्छन्, कान नसुन्ने सुजल बमका कुरा इसारामै सुन्छन्, कहिले विद्यार्थीहरूसँग सेल्फी लिँदै कुरा गरिरहेका हुन्छन्, क्रिकेट हेर्न रंगशाला पुगेका हुन्छन् ।
ओली सिनेमा हेर्न पनि पुगेका हुन्छन्, राजेश हमालसँग सिनेमा संवादमा सहभागी हुन्छन्, शास्त्रीय संगीत पनि सुन्छन् र पत्रिकामा नियमित स्तम्भ लेखेर आफ्ना अनुभव युवालाई शेयर गरिरहेका हुन्छन् ।
भुइँतहका मान्छेसँग प्रत्यक्ष संवाद गर्ने शीर्ष नेतामा ओली एक हुन्, जुन प्रचण्ड, देउवा या माधव नेपालले गरेको देखिँदैन । यसर्थमा ओलीले जनताका वास्तविक समस्या उनीहरूकै मुखबाट सुनेको हुनुपर्छ । उनले जोसँग अन्तसंवाद गरेका छन्, उनीहरूले व्यहोरी समस्या नै राष्ट्रिय समस्या हुन् ।
ओलीले अन्तर्क्रिया गर्न छुटेको एउटा क्षेत्र छ, त्यो हो सरकारी अस्पतालको दुरावस्था । संसद्मा नेमकिपा सांसद प्रेम सुवालले सरकारी अस्पतालाई भूतघरको संज्ञा दिएका थिए । सरकारी अस्पतालमा सर्वसाधारणले व्यहोरिरहेको सास्तीको वर्णन गर्दा एउटा महाकाव्य तयार हुन्छ ।
सरकारी अस्पतालमा सर्वसाधारणले व्यहोरिरहेको दर्दलाई नयाँ प्रधामनन्त्रीले नभुलुन् । प्रचण्डलाई विस्थापित गरेर आफू किन सिंहदरबारमा आउनु पर्यो ? ओलीले काममार्फत् प्रमाणित गरून् ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...
सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...
कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...