०३ असार २०८३, बुधबार

सिमताल दुर्घटना : बेपत्ताको खोजीमा ३ सय सशस्त्र प्रहरी परिचालन

साउन १, २०८१
काठमाडौं
सिमताल दुर्घटना : बेपत्ताको खोजीमा ३ सय सशस्त्र प्रहरी परिचालन

त्रिशूली नदीमा बेपत्ता दुईवटा बसका यात्रीको खोजी गर्न ३ सय १ सशस्त्र प्रहरी परिचालित भएका छन् ।

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी दुईवटा बस बेपत्ता छन् ।

घटनास्थल सिमलतालदेखि गण्डक ब्यारेजसम्मको करिब १ सय ३२ किलोमिटर क्षेत्रमा उक्त सङ्ख्यामा जनशक्ति परिचालित भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

दुर्घटनास्थल वरिपरि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुनिरटारबाट सशस्त्र प्रहरी उपरीक्षकको कमान्डमा ११ जना गोताखोरसहित ८६ जनाको सुरक्षा फौज, दुईवटा मोटरबोट र सातवटा र्‍याफ्टबोट परिचालन गरिएका छन् ।

यस्तै सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवनबाट सशस्त्र प्रहरी उपरीक्षकको कमान्डमा एक सय १५ जनाको सुरक्षा फौज विभिन्न १५ वटा टोली बनाएर घटनास्थल, देवघाटदेखि शिवघाटसम्म, शिवघाटदेखि सिसवारसम्म, सिसवारदेखि गोलघाटसम्म खटाइएको छ ।

सोही गणबाट खटिएको फौज सिसवारदेखि गोलाघाटसम्म, आँपटारी, रामनगर, जुगेडी, गाईघाट, देवघाट, पुल्चोक, शिवघाट, गाजीपुर, सिसवार, गोलाघाट लगायतका ठाउँहरूमा परिचालित भएका सहप्रवक्ता थापाले जानकारी दिए । 

सशस्त्र प्रहरी नं २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ६० जनाको सुरक्षा फौज गण्डक ब्यारेज इलाकामा खटाइएको छ ।

सशस्त्र प्रहरी नं ३१ गुल्म पूर्वी नवलपरासीबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमान्डमा १० जनाको सुरक्षा फौज गैँडाकोट नगरपालिका–१० को  इलाकामा परिचालित भएका छन् ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट त्रिवेणीबाट प्रहरी निरीक्षकको कमान्डमा १० जनाको टोली गण्डक ब्यारेज इलाका, सुरक्षा बेस चोरमाराबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा १० जनाको टोली पूर्वी नवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका–३ भुटाहा इलाका र सुरक्षा बेस प्रगतिनगरबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा १० जनाको टोली देवचुली नगरपालिका–१५ खर्कटा इलाकामा खटाइएको छ । ​

वीरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बर र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए ।

ती बसमा ६५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

हालसम्म १५ वटा शव भेटिएको छ । सो मध्ये नौ वटाको सनाखत भएको छ भने बाँकीको सनाखत हुन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्