नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्री दीपक खड्कालाई संखुवासभाका जनताले प्रश्न गरेका छन् । विभिन्न हाइड्रो कम्पनीका मालिकसमेत रहेका खड्कालाई स्थानीयले ‘अब खोलामा पानी छोड्नुहुन्छ ?’ भन्दै प्रश्न गरेका हुन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसको कोटाबाट ऊर्जा मन्त्री बनेका खड्का ४.७२ मेगावाटको मेन्छायायेम जलविद्युत आयोजनाका सञ्चालक पनि हुन् ।
चैनपुर नगरपालिका–२ छोटी ढुंगा भन्ने स्थानमा यो आयोजना सञ्चालनमा रहेको छ । हाइड्रो पावर सञ्चालन गर्दा खोलामा बगेको पानीको १० प्रतिशतले छोड्नु पर्ने कानूनी व्यवस्था छ । तर, उनले नछाड्ने गरेको स्थानीयको आरोप छ ।
चैनपुर नगरपालिकाका मेयर कृष्णकुमार तामाङले पनि हिउँदमा हाइड्रोले पानी नछाड्ने गरेको बताए । ‘अहिलेसम्म हामीसँग उजुरी त आएको छैन,’ उनले भने, ‘तर बर्खामा पानी धेरै भइहाल्छ । हिउँदमा चाहिँ छोडदैन ।‘ उनले हाँस्दै घर मुलीको कथा सुनाउँदै भने, ‘अब मन्त्रीज्यूले हेर्नु होला नि ।’
अनुगमन नियमन गर्ने मान्छे नै मन्त्री भएपछि अब राहत मिल्ने भन्दै मन्त्रीप्रति स्थानीयले भने कटाक्ष गरेका छन् । ‘पहिला उहाँ सांसद मात्रै हुँदा त खोलामा शव जलाउने पानी पनि छोड्दैन थिए,’ चैनपुर नगरपालिका २ सूर्यकिरण भण्डारीले भने, ‘अब मन्त्री भएपछि शव जलाउँदा चिता पखाल्न त पाइन्छ होला नि । अब हाइड्रोका सञ्चालकसमेत रहेका हाम्रा माननीय मन्त्री मन्त्री हुनुभएको छ । अब हाम्रा गाई बाख्राले पनि खोलामा पेटभरि पानी खान पाउँछन् भन्ने लागेको छ ।’
खोलामा हिउँदको समयमा कमिला बगाउने पानी पनि नहुने गरेको चैनपुर नगरपालिका २ का वडा अध्यक्ष फुर्दावा सेर्पाले बताए ।
उनी १२० मेगावाट क्षमताको निर्माणाधीन परियोजना लाङटाङ–भोटेकोसी जलविद्युत परियोजनामा पनि संलग्न छन् । उनले प्रभावित क्षेत्रका जनतालाई दिने भनेको राहत तथा सामुदायिक विद्यालयहरूलाई दिने भनेको सेयरसमेत नदिएको संखुवासभाका कांग्रेसका नेता ज्ञानबहादुर बस्नेतले बताए । ‘हाइड्रोमा धेरै विवादहरू सुनेका छौं,’ उनले भने, ‘प्रभावित क्षेत्रका जनतालाई र सामुदायिक विद्यालयलाई दिने भनेको सेयरसमेत नदिएको बुझेका छौँ । अब मन्त्री बन्नुभयो दिनुहुन्छ होला ।’
उनी काठमाडौँमा बस्छन् । पुर्ख्यौली घर भने संखुवासभा हो । काठमाडौं बस्ने गरे पनि उनी राजनीति भने संखुवासभाबाटै गर्छन् । उनी कांग्रेस नेता शशांक कोइराला निकट मानिन्छन् ।
खोला झोलामा भनेर हिँड्नेलाई स्वार्थ बाझिनेगरी मन्त्री बनाएको भन्दै एमालेका नेताहरू भने रुष्ट बनेका छन् । स्वास्थ्य बाझिनेलाई मन्त्री बनाउन सिफारिस गरेर कांग्रेसले गल्ती गरेको नेताहरूको आरोप छ । मन्त्रीले अब हाम्रो खोलानाला कसरी बिक्री हुन्छन् पछि थाहा पाइहाल्नुहुन्छ,’ एमाले संखुवासभाका एक नेताले भने, ‘झोलामा खोला बोक्नेसँग हाम्रो कुनै आस छैन ।’ उनीमाथि नेपाल स्काउटको १२ रोपनी जग्गा वर्षाैंदेखि कब्जा गरेको आरोप पनि लाग्दै आएको छ ।
२०७२ सालतिर संखुवासभाकै कमलनारायण लिङथेपको समूहले यो हाइड्रो बनाउन शुरू गरेका थिए । उनीहरूले निर्माण चरणको सुरुवातमै पैसा अभाव भएपछि खड्कालाई १ करोड २३ लाखमा बेचेका थिए । रसुवामा एक सय २० मेगावाट क्षमताको विद्युत् आयोजनामा समेत उनको लगानी रहेको जानकारहरू बताउँछन् ।
मन्त्री खड्काको कम्पनीका कार्यकारी निर्देशक स्वेवक पोख्रेलले तीनवटा जलविद्युत कम्पनीमा खड्काको सेयर रहेको बताए । मेन्छायायेम हाइड्रो २०७३ सालदेखि निर्माण शुरू गरिएको थियो । गत वर्ष आएको बाढीले भने ठूलो क्षति पुर्याएको पोख्रेलले बताए । ‘हाम्रोभन्दा तल पनि हाइड्रो रहेकाले हामीले चाहिँ पानी छोड्ने गरेका छौं,’ पोख्रेलले भने, ‘जनताले आरोप नलाउनेगरी काम गरिरहेका छौं ।’
मेन्छायायेमकै छेउमा मन्त्री खड्काकै लगानीमा देवी हाइड्रो निर्माणाधीन अवस्थामा छ । रसुवामा लाम्टाङ भोटेकोशी हाइड्रो पावर कम्पनी प्रालिले रसुवा भोटेकोशी जलविधुत आयोजन सञ्चालन गरिरहेको छ । कार्यकारी निर्देशक पोख्रेलले भोटेकोशी जलविधुत आयोजनमा विदेशी लगानीसमेत खड्काले भित्र्याएको दाबी गरे ।