
नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले कांग्रेस र एमालेको नयाँ सत्ता समीकरणले देशको प्रगतिशील यात्रालाई रोकेको दाबी गरेको छ ।
माओवादी केन्द्र सत्ताबाट बाहिरिएपछि उसकै अग्रसरतामा बसेको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमले देशलाई पश्चगमनमा धकेलेको भन्दै चिन्ता प्रकट गरेको नेकपाका नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।
‘बैठकमा राष्ट्रिय राजनीतिमा भर्खरै घटेको राजनीतिक घटनाबारे छलफल भएको छ । यो घटनाको हामीले गम्भीर छलफल गरेका छौं,’ मंगलबार बसेको बैठकपछि विश्वकर्माले भने, ‘देश प्रगतिशील यात्रामा अगाडि बढे पनि यो घटनापछि यथास्थिति र पश्चगमनमा लाने चिन्ता थपिएको बारे हामीले गम्भीर चिन्ता प्रकट गरेका छौं ।’
साथै बैठकले देशको पछिल्लो राजनीतिक स्थितिको विश्लेषण गर्न कार्यदल गठन गरेको छ ।
कार्यदलमा खड्गबहादुर विश्वकर्मा, देव गुरुङ, प्रमेश हमाल र गंगा नारायण श्रेष्ठ छन् । कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।
बैठकले मोर्चामा अन्य दललाई आबद्ध गराउने निर्णय पनि गरेको छ ।
मोर्चाको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लससहितका नेता सहभागी भएका थिए ।
प्रचण्ड र नेपाल दुवैले सत्ता समीकरण फेरिएको मात्रै भन्दा पनि संविधान संशोधन गर्ने नाममा परिवर्तन विरोधी गतिविधि हुन लागेको दाबी गरेका थिए ।
त्यस्ता विषयको एक भएर प्रतिवाद गर्ने तयारी मोर्चाको छ ।