२८ जेठ २०८३, बिहीबार

सिंहदरबार परिसरमा आज जे देखियो...

साउन १, २०८१
काठमाडौं
सिंहदरबार परिसरमा आज जे देखियो...

देशको सबैभन्दा ठूलो प्रशासनिक भवन रहेको सिंहदरबार परिसरमा आज अघि पछिभन्दा बढी चहलपहल देखियो ।

मुलुकका प्रमुख दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा(एमाले) बीचको सहमतिमा सोमबार नयाँ सरकार गठन भएसँगै मन्त्रीहरुलाई बधाई दिन सिंहदरबार प्रवेश गर्नेको भीड आज दिनभर जारी रह्यो । नयाँ मन्त्रीहरुलाई शुभकामना दिने र बधाई ज्ञापन गर्न उपत्यकामा रहेका आफन्तजन मात्र नभई टाढा–टाढाका जिल्लाबाट नेता तथा कार्यकर्ता सिंहदरबार आइपुगेको देखिन्थ्यो ।

 कतिपय नेता तथा कार्यकर्ताले समूहमा जिल्लाबाट गाडी नै रिजर्भ गरी मन्त्रीको नयाँ जिम्मेवारी प्राप्त गरेका आफ्ना नेतालाई शुभकामना दिन आएका थिए । शुभकामना तथा बधाई ज्ञापन गर्नेको भीडसँगै अधिकांश मन्त्रीहरु आज दिनभर माला–खादा लगाउन भ्याइ नभ्याई भए । सबैजसो मन्त्रालयको प्रवेशद्वारमा शुभकामना दिनेको ओहरदोहर बाक्लो देखिन्थ्यो । सिंहदरबार परिसरमा प्रवेश अनुमति (पास) लिन दक्षिण मूलद्वारमा नेता तथा कार्यकर्ता लामबद्ध देखिन्थे ।

 नियमित प्रवेश गर्ने कर्मचारीबाहेक आज मन्त्रीहरुलाई बधाई तथा शुभकामनाका लागि पास लिएर जानेको सङ्ख्या करिब दुई हजार पाँच सयभन्दा बढी रह्यो । सार्वजनिक बिदाका दिनबाहेक अरु दिनमा दैनिक एक हजार चार सय व्यक्ति सिंहदरबार परिसर प्रवेश गर्ने गरेकामा आज दुई हजार पाँच सयभन्दा बढी व्यक्ति प्रवेश गरेको नेपाल प्रहरीको सिंहदरबारस्थित गणले जनाएको छ । गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारीका अनुसार उक्त गणले शान्ति सुरक्षाको प्रयोजनका लागि मूल प्रवेशद्वारहरुमा आगन्तुक प्रवेश व्यवस्थित गर्दै आएको छ । 

दक्षिण प्रवेशद्वारमा प्रवेसीलाई पास उपलब्ध गराउन तोकिएका चारवटा झयालमा अपराह्नसम्म लाइन बस्नेको घुइँचो थियो । जिल्लाबाट बधाई ज्ञापनका लागि आएका नेता तथा कार्यकर्ताले आ–आफ्ना दलसँग सम्बन्धित मन्त्रीलाई प्राथमिकतामा राखेका थिए भने केहीले समूहमा सबै मन्त्रालय पुगेर शुभकामना दिएका थिए ।

सिंहदरबारस्थित केन्द्रीय चमेना गृहमा भेटिएका कञ्चनपुरका सिद्धार्थ भट्टले मुलुकमा केही नयाँ नभएको अनुभूति भएको बताए । 

नेता तथा कार्यकर्ताको भीड सहरी विकास, भौतिक पूर्वाधार, श्रम तथा यातायात, युवा तथा खेलकुद, सङ्घीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ बढी देखिन्थ्यो । कतिपय नयाँ मन्त्रीलाई शुभचिन्तक, आफन्त, साथीभाई र नेता तथा कार्यकर्ताबाट पहिरिएको माला तथा खादा ग्रहण गर्ने र भेटघाटका लागि समय मिलाउन हम्मेहम्मे परेको थियो ।

आर्शिवाद दिन आएका पाहुँना पनि व्यक्तिगत र समूहमा तस्बिर लिन तँछाड मछाडमै व्यस्त थिए । कतिपय ठाउँमा खाँदा र मालाको थुप्रो अस्रल देखिन्थ्यो । राणा प्रधानमन्त्री चन्द्रशमशेरले विसं. १९०३ मा बनाएको सिंहदरबारका भवन बेलाबेलामा भूकम्पका कारण पुनः निर्माण हुँदै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्