
लाइन काटिएका उद्योगहरूमा तुरुन्त लाइन जोडिदिन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् ।
डेडिकेटेड र ट्रंक लाइन विवाद देखाएर घिसिङले पछिल्लो समय ६ उद्योगको लाइन काटेका थिए ।
यता उद्योगीहरूले भने 'नक्कली बिल' नतिर्ने भन्दै प्राधिकरणमाथि दबाब दिइरहेका थिए ।
यही समस्याको समाधानका लागि प्रधानमन्त्री ओलीले केही उद्योगी र घिसिङसहित प्राधिकरणका पदाधिकारीलाई बोलाएर समस्या समाधानबारे छलफल गरेका थिए ।
छलफलमा उद्योग र ऊर्जा मन्त्रालयका उच्च पदस्थ कर्मचारी पनि सहभागी थिए ।
प्रधानमन्त्री ओलीले यसअघि मन्त्रिपरिषद बैठकबाट एकै दिनमा भएका दुई फरक-फरक र बक्यौतासम्बन्धी परस्पर विरोधी निर्णयबारे पनि चासो राखेका थिए ।
छलफलपछि लोकान्तरसँग कुरा गर्दै एक उद्योगीले भने, 'लाइन काटिएका उद्योगमा आजै जोडिदिन प्रधानमन्त्रीले प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।'
छलफलका क्रममा घिसिङले भने यसअघिको सरकारले गरेको निर्णयबमोजिम बक्यौता उठाउने पहल गरिएको भन्दै आफ्नो बचाउ गरेका थिए ।
घिसिङले लाइन काटिएका उद्योगमा पुनः लाइन जोड्न प्राधिकरणको बोर्डको निर्णय चाहिने र त्यसका लागि आइतबारसम्म पर्खनुपर्ने बताए ।
घिसिङको यस्तो तर्क सुनेपछि प्रधानमन्त्रीले शुक्रबार साँझ नै बोर्डको बैठक बसेर निर्णय गर्न अर्को निर्देशन दिएका थिए ।
प्रधानमन्त्री ओलीको यो आदेशपछि ऊर्जा मन्त्रालयमा प्राधिकरणको बोर्डको बैठक बसिरहेको छ ।
छलफलमा प्रधानमन्त्री ओलीले '२०७३ को पुसमा बनेको विनियमावली कसरी २०७३ कै साउनबाट लागू भयो' भनेर समेत सोधेका थिए ।