२६ असार २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

कुलमानमाथि नैतिक संकटदेखि जहाज दुर्घटनामा जाँचबुझ आयोग गठनसम्म

साउन १०, २०८१
काठमाडौं
कुलमानमाथि नैतिक संकटदेखि जहाज दुर्घटनामा जाँचबुझ आयोग गठनसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
 ००००
बुधवार दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजको बेस मेन्टिनेन्स गर्न अझै ११९ घण्टा उडानको समय बाँकी रहेको खुलासा भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले दुर्घटना भएको उक्त जहाजको अझै ११९ घण्टासम्मको उडान गर्न सक्ने म्याद बाँकी नै रहेको जानकारी दिएको हो ।
प्राधिकरण स्रोतका अनुसार डेढदेखि दुई वर्षमा वा ५ हजार घण्टा उडान गरिसकेपछि गरिने मेन्टिनेन्सलाई बेस मेन्टिनेन्स  भनिन्छ । जसअनुसार बुधवार दुर्घटना भएको जहाज  ह्याङ्गरमै राखेर गरिने मर्मत बिनै अझै ११९ घण्टा उडाउन सकिन्थ्यो । 

‘५ हजार घण्टा उडान गरिसकेपछि वा डेढ–दुई वर्षपछि ह्याङ्गरमै राखेर गरिने मेन्टिनेन्सलाई बेस मेन्टिनेन्स भनिन्छ’, प्राधिकरणका ती कर्मचारीले लोकान्तरसँग भने, ‘तर समय अघि नै मेन्टिनेन्स गराउन भनेर उक्त जहाजलाई पोखर स्थित ह्याङ्गरमा लग्न खोजेको देखिन्छ । जुन राम्रै पक्ष हो ।’
बेस मेन्टिनेन्सका लागि नै भनेर बुधवार पोखराका लागि उडान गरिएको थियो । ह्याङ्गरमै कम्तीमा ४ साता राखेर परीक्षण गर्नुका साथै सबैखाले मेन्टिनेन्स गर्ने एयरलाइन्सको तयारी थियो ।
००००
सरकारले जहाज दुर्घटनाको छानबिनका लागि ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । 
बुधवार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वडीजी रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो ।

मर्मतका लागि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडान भर्ने क्रममा सौर्य एयरलाइन्सको जहाज बुधवार बिहान दुर्घटनामा परेको थियो । उडान भरेको केही सेकेण्डमै दुर्घटनामा परेको जहाजमा सवार १९ मध्ये १८ जनाको निधन भएको छ । क्याप्टेन भने सकुसल छन् । उनको घाइतेअवस्थामा उपचार भइरहेको छ।  

बैठकले जहाज दुर्घटनामा परेर मृत्यु भएका १८ जनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ ।
००००
जहाज दुर्घटनामा मृत्यु भएका १८ जनाको शव पहिचानको प्रक्रिया शुरू भएको छ।

काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका टिमले शवको पहिचान गर्ने प्रक्रिया थालेको हो । अस्पतालको फरेन्सिक विभाग प्रमुख डा गोपालकुमार चौधरीका अनुसार शवहरूको एन्टीमोर्टम डेटा संकलनको काम एउटा टोलीले शुरू गरिसकेको छ ।

शवहरूको अनुहार तथा शरीर जलेको हुनाले पहिचान गर्न कठिनाइ भएको उनले बताए ।
००००
कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा नियमावली, २०८१, कोशी प्रदेश गुनासो व्यवस्थापन निर्देशिका, २०८१ लाई स्वीकृत गर्नेलगायत चारवटा निर्णय गरेको छ ।
००००
राष्ट्रिय मानव अधिकार आयोगले लोकतन्त्रको भावना र संविधानको मर्मविपरीत हुनेगरी सार्वजनिक निकायमा नियुक्ति नगर्न तथा नगराउन निर्देशन गरेको छ ।     

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा राज्यका महत्वपूर्ण संवैधानिक पदमा विवादमा आएका व्यक्तिलाई नियुक्ति नगर्न नेपाल सरकारलगायत सम्बन्धित निकायलाई निर्देशन गरिएको उल्लेख छ ।
००००
नेकपा एमाले र नेपाली कांग्रेस लुम्बिनी प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने साझेदारी गरेका छन् ।
साझेदारीअनुसार पहिलो चरणमा एमाले र दोस्रो चरण कांग्रेसले आधा(आधा कार्यकाल सञ्चालन गर्नेछन् । उनीहरूले बुधबार साझेदारी गरेका हुन् । यसबीच लुम्बिनी र बागमतीमा नयाँ मन्त्रिपरिषद् गठन भएको छ । 
००००
प्रधानमन्त्री केपी शर्मा ओली र विद्युत नियमन आयोगको निर्देशनअनुसार ६ उद्योगमा ‘निःशर्त’ बिजुली जोड्नुपरेपछि नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङमाथि नैतिक संकट परेको छ ।

डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेबापतको बक्यौता नतिरेको भन्दै घिसिङले गत असार २५ गतेबाट उद्योगहरूमा लाइन काट्न शुरू गरेका थिए ।
मंगलबार प्राधिकरणको सञ्चालक समिति बैठकको बहुमतले निर्णय गरेपछि रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक्स, जगदम्बा स्टिल र हुलास स्टिलमा मंगलबार नै लाइन जोडिएको हो ।

गत असार १० गते घिसिङले उद्योगहरूमा धमाधम पत्र पठाएर १५ दिनभित्र बक्यौता तिर्न ताकेता गरेका थिए । डेडिकेटेड र ट्रंकलाइन विवादबारे गठित गिरिशचन्द्र लाल नेतृत्वको आयोगले गरेको सिफारिसविपरीत मन्त्रिपरिषद बैठकबाट ‘कीर्ते’ निर्णय गर्न लगाएर घिसिङले तर्साउन खोजेपछि उद्योगीहरू राजनीतिक नेताहरूको शरणमा पुगे ।

निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढल्नुमा कतिपयले घिसिङको चरम स्वेच्छाचारिता र भ्रष्टाचार पनि कारण रहेको बताउने गरेका छन् । प्राधिकरणकै कर्मचारीहरू उनको मनोमानीसँग सन्तुष्ट छैनन् ।

लालआयोगले २०७२ साल साउनदेखि २०७२ पुससम्म महसुल निर्धारण नभएको अवधिको पैसा नलिने र २०७२ को माघदेखि २०७५ वैशाखसम्म महसुल निर्धारण आयोगले निर्धारण गरेको अवधिको महसुल लिने सिफारिश गरेको थियो ।

त्यसका लागि उद्योगहरूले दैनिक उपभोग गरेको विद्युतको मात्रा (टाइम अफ डे अर्थात् टीओडी) मिटरको तथ्यांक हेरेर मात्र प्रिमियम शुल्क लिनुपर्ने आयोगको सिफारिशमा उल्लेख छ ।

तर, उपभोग गरेको भनिएको विद्युतको मात्रा कति हो, पैसा कति हो, त्यसको हिसाबकिताब घिसिङसँग छैन । ुबक्यौता तिरु भन्दै उद्योगीहरूलाई धमाधम पत्र काट्न थालेपछि आफूहरूले उपभोग गरेको विद्युतको तथ्यांक माग्न उनीहरू प्राधिकरण पुगे ।
००००
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वमन्त्री श्यामसुन्दर गुप्ताविरुद्ध मुद्दा दायर गरेको छ ।

उनीविरुद्ध ८५ लाख रुपैयाँ बिगो कायम गरी सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।
००००
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकार सुशासन कायम गर्दै बेदाग सत्ताबाट बाहिरिएको बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको स्मृतिसभामा बोल्दै उनले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिको पक्षमा माओवादी नेतृत्व सक्रियतापूर्वक लागेका बेला अपारदर्शी ढङ्गले सरकार परिवर्तन भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्