०४ साउन २०८३, सोमबार
भारतमा अमेरिकी चुनावको चासो

कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवार हुने खबरले भारतमा उत्सव: मन्दिरमा विशेष पूजा, मिठाई बाँडियो

साउन १०, २०८१
काठमाडौं
कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवार हुने खबरले भारतमा उत्सव: मन्दिरमा विशेष पूजा, मिठाई बाँडियो

अमेरिकी राष्ट्रपति जो बाइडेन नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनको उम्मेदवारीबाट पछि हटेर उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका छन् । बाइडेनको स्थानमा अब ह्यारिसले डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकाको राष्ट्रपति पदका लागि चुनाव लड्ने छिन् । 

ह्यारिसलाई पार्टीको आधिकारिक उम्मेदवार घोषणा गर्ने प्रबल सम्भावना छ । एसोसिएटेड प्रेसको सर्वेक्षणअनुसार कमला ह्यारिसले डोनाल्ड ट्रम्पको विरुद्धमा डेमोक्रेटिक पार्टीको आधिकारिक उम्मेदवार बन्न धेरै डेमोक्र्याट प्रतिनिधिहरूको समर्थन प्राप्त गरेकी छन् ।

यो खबरसँगै भारतस्थित उनको मामाघर रहेको गाउँमा उत्सवको माहोल छ । कमला ह्यारिसको मामाघर भारतको दक्षिणी सहर चेन्नईबाट ३०० किलोमिटर र वाशिंगटन डीसीबाट १४००० किलोमिटर टाढा रहेको सानो थुलसेन्द्रपुरम गाउँका छ । ह्यारिसको हजुरआमाको गाउँमा चुनावी चासो बढेको छ।

गाउँको बीचमा ५९ वर्षीया ह्यारिसको फोटोसहितको ठूलो ब्यानर टाँसिएको छ । गाउँमा मिठाई वितरण भइरहेको छ । गाउँको मन्दिरमा विशेष पूजा गरिँदैछ ।

'विश्वको सबैभन्दा शक्तिशाली देशको यो स्थानमा पुग्नु कुनै मजाक होइन । हामी कमला ह्यारिसमा गर्व गर्छौं,' सेवानिवृत्त बैंक प्रबन्धक कृष्णमूर्तिले भने, 'पहिले भारतीयहरू विदेशीहरूद्वारा शासित थिए र अहिले शक्तिशाली देशहरू भारतीयहरूको नेतृत्वमा छन् ।'

सन् २०२० मा जब कमला ह्यारिस उपराष्ट्रपति भइन्, त्यतिबेला पनि गाउँमा धेरै आतिशबाजी गरिएको थियो। पोस्टर र क्यालेन्डरहरू टाँसिएका थिए ।

एक सामुदायिक भोज पनि आयोजना गरिएको थियो । जसमा सयौं मानिसहरूलाई दक्षिण भारतको परम्परागत परिकार इडली-साम्बर खुवाइएको थियो । ह्यारिसका आफन्तका अनुसार सम्भर–इडली ह्यारिसको मनपर्ने खाना हो ।

उसो त कमला ह्यारिस मामाघर रहेको यस गाउँमा कहिल्यै आएकी छैनन् । ह्यारिस चेन्नई आएकी छन् तर, कहिल्यै गाउँ गएनन् । तर, गाउँलेहरूको उत्साह कम छैन ।

विशेषगरी महिलामा गौरवको भावना छ । गाउँका स्थानीय प्रतिनिधि अरुलमोझी सुधाकर भन्छिन्, 'गाउँका सबैले उनलाई चिनेका छन् । बच्चाहरूले पनि चिनेका छन् । गाउँका सबैले उनलाई दिदी भन्छन् । ह्यारिसले आफ्नो जग बिर्सनुभएन भनेर हामी खुसी छौं ।'

गाउँमै बस्ने अर्का व्यक्तिले कमला ह्यारिस अमेरिकाको राष्ट्रपति बने तमिलनाडु सरकारले अमेरिकी लगानीलाई ल्याउने प्रयास गर्नुपर्ने बताए ।

ह्यारिसको जग भारतीय परम्परासँग जोडिएको छ। अङ्ग्रेजी पत्रिका ‘द हिन्दू’ मा प्रकाशित समाचारका अनुसार आमाको मृत्युपछि उनी हिन्दू रीतिरिवाजअनुसार अश्तु समुन्द्रमा फाल्न बहिनीसँग चेन्नई आएकी थिइन् ।

तमिलनाडुको स्तन क्यान्सर अनुसन्धानकर्ता श्यामला गोपालनकी छोरी कमला सन् १९५८ मा अमेरिका गइन् । उनका बुबा डोनाल्ड ह्यारिस जमैकाका थिए ।

कमला ह्यारिसले २०२३ मा एउटा ट्वीट गरेकी थिइन्, 'मेरी आमा श्यामला १९ वर्षको उमेरमा एक्लै अमेरिका आउनुभयो । उहाँ एक शक्ति हुनुहुन्थ्यो- एक वैज्ञानिक, एक नागरिक अधिकार कार्यकर्ता । जसले आफ्ना दुवै छोरीहरूमा गर्वको भावना जगाइन् ।'

उनका मामा गोपालन बालचन्द्रन विद्वान थिए । उनका मामा घरका हजुरबुवा पीवी गोपालन भारतीय निजामती सेवा अधिकारी थिए । जो विस्थापित व्यक्तिहरूको पुनर्स्थापना जस्ता मुद्दाहरूमा विशेषज्ञ थिए। १९६० मा उनले जाम्बियाको पहिलो राष्ट्रपतिको सल्लाहकारको रूपमा सेवा गरेका थिए ।

ह्वाइट हाउसमा काम गर्नुअघि कमला ह्यारिस क्यालिफोर्नियाको महान्यायाधिवक्ता थिइन् र अमेरिकी सिनेटको सदस्यको रूपमा काम गरिन् ।

दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयका सैद्धान्तिक भौतिकशास्त्रका प्राध्यापक तथा श्यामला गोपालनको सहपाठी प्रोफेसर आर. राजाराम भन्छन्, 'उनी महत्त्वपूर्ण व्यक्तित्व हुन् । धेरै वर्षदेखि उनले केही महत्त्वपूर्ण काम गर्न गइरहेका थिए ।'

ऋषि सुनक बेलायतको प्रधानमन्त्री बनेपछि भारतीयहरू खुसी भएका थिए । ऋषि सुनक बेलायतका प्रथम हिन्दू प्रधानमन्त्री थिए । सुनक प्रधानमन्त्री भएपछि भारतसँगको सम्बन्ध सुमधुर हुने अपेक्षा गरिएको थियो । तर, सुनकको कार्यकालमा स्वतन्त्र व्यापार सम्झौता अर्थात् एफटीएमा वार्ता हुन सकेन ।

यसबाहेक ग्रेजुएट भिसा योजना, बेलायत जानको लागि तलब सीमा बढाउने जस्ता सुनकका धेरै निर्णयहरू भारतीयहरूको पक्षमा मानिएनन् ।

त्यस्तै भारतीय पहिचानसँग जोडिएकी कमला ह्यारिस अमेरिकाको उपराष्ट्रपति बनेपछि भारतमा निकै चर्चा भएको थियो । मन्दिरमा पूजा, रंगोली बनाई कमलालाई शुभकामना दिइएको थियो ।

त्यसपछि जुन २०२१ मा जब भारतीय प्रधानमन्त्री मोदी अमेरिका पुगे उनले कमला ह्यारिसलाई भारत भ्रमणको निम्तो दिए । तर, उपराष्ट्रपति बनेपछि उनी एकपटक पनि भारत आएकी छैनन् । कमला उपराष्ट्रपति बनेपछि भारत–अमेरिका सम्बन्धमा खासै प्रभाव नपरेको विज्ञहरू बताउँछन् ।

ह्यारिस राष्ट्रपति बन्ने दौडमा सामेल भएर फेरि एकपटक चर्चामा छिन् र डोनाल्ड ट्रम्पको पार्टीको निशाना बनेकी छिन् ।

ऋषि सुनकको परिवार भारतको थियो । तर, उनले आफ्नो भारतीय पहिचानभन्दा हिन्दू पहिचानबारे खुलेर बोल्दै आएका छन् ।

ह्यारिसले आफ्नी आमाबारे कुरा गर्दा आफ्नो भारतीय पहिचानको उल्लेख गरिरहेकी छिन् ।

कमला ह्यारिसको जन्म क्यालिफोर्नियाको ओकल्याण्डमा भएको थियो। कमलाका आमाबुवा पनि बाहिरबाट अमेरिका आएका थिए ।

कमलाकी आमा भारतमा र बुबा जमैकामा जन्मिएका थिए। कमलाकी आमाले दिल्ली विश्वविद्यालयबाट पढेकी थिइन् ।

कमला पाँच वर्षकी हुँदा उनका बाबुआमा छुट्टिए ।

कमलालाई आमा श्यामला गोपालन ह्यारिसले हुर्काएकी थिइन् ।

कमलाले आफ्नो आत्मकथा ‘द ट्रुथ वी टुल्ड’ मा आफ्नो नामको अर्थ बताएकी छन् ।

कमलाले लेखेकी थिइन्, 'मेरो नामको अर्थ कमलको फूल हो। भारतीय संस्कृतिमा यसको ठूलो महत्त्व छ । कमलको बोट पानीमुनि हुर्कन्छ। फूल पानीको सतहभन्दा माथि फुल्छ। जराहरू नदीको किनारमा जोडिएका हुन्छन् ।'

जमैका, भारत र अमेरिका। यस्तो अवस्थामा पहिचानसँग सम्बन्धित धेरै प्रश्नमा कमलाले आफू अमेरिकी भन्न रुचाउने बताइन्।

तर, २०२० को चुनावी प्रचारका क्रममा कमलाले भारतीय खाना पकाउँदै र भिडियोमा दक्षिण भारतको बारेमा कुरा गरिरहेकी थिइन् ।

कमलाले चामल, दही, रसिलो आलु तरकारी,  दाल र इडली धेरै खाएर हुर्केको बताइन्।

जब कमलाले सन् २०१४ मा वकिल डगलस एमहफसँग विवाह गरिन् तब भारतीय र यहूदी दुवै परम्पराहरू पछ्याइएको थियो ।

कमला ह्यारिसले जिते पनि भारत–अमेरिका सम्बन्धमा कुनै परिवर्तन नहुने केही विज्ञहरू बताउँछन् ।

ह्यारिसले जित्दा यसले भारत–अमेरिका सम्बन्धभन्दा अमेरिकी राजनीतिमा बढी प्रभाव पार्ने उनीहरूको तर्क छ ।

समाचार एजेन्सी एपीको रिपोर्टमा दक्षिण एशिया संस्थानका निर्देशक माइकल कुगेलम्यानले भनेका छन्, 'कमला ह्यारिसले आफ्नो भारतीय पहिचानलाई अगाडि राख्दैनन् । उनले आफ्नो जमैकन पहिचानलाई जोड दिइरहेकी छिन् ।'

'जब भारतीयहरूले कमला ह्यारिसलाई हेर्छन्, उनीहरूले भारतीय मूलको व्यक्तिलाई भन्दा एक अमेरिकी अधिकारीलाई हेर्छन्,' जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक ह्याप्पीमान जेकबले एपीलाई भनेका छन् ।

एनडीटीभी प्रॉफिटको रिपोर्टका अनुसार अन्तर्राष्ट्रिय मामिलाका जानकार हर्ष पन्तले कमला राष्ट्रपति भए भने सम्बन्ध पहिलेजस्तै रहिरहने बताएका छन् । 'बाइडेन प्रशासनसँग भारत सरकारको राम्रो सम्बन्ध छ र कमला ह्यारिस पनि त्यसको एक हिस्सा थिइन् ।' बीबीसी हिन्दी

salt training

कमेन्ट गर्नुहोस्