
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । उनले बिहीवार आफ्नै दल नेपाली कांग्रेसका तर्फबाट चार मन्त्री नियुक्त गरेका हुन् ।
कांग्रेसबाट सुरजचन्द्र लामिछाने, प्रभात तामाङ, मीनकृष्ण महर्जन र विमल ठकुरी मन्त्री भएका छन् । लामिछानेलाई आन्तरिक मामिला तथा कानुन, तामाङलाई आर्थिक मामिला तथा योजना, महर्जनलाई युवा तथा खेलकुद र ठकुरीलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
बुधवार मन्त्री नियुक्त भएका कुन्दनराज काफ्लेलाई सामाजिक विकास र श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
बुधवार नै मन्त्रीमा सपथ खाएका कांग्रेसकै मदुकुमार श्रेष्ठले भने मन्त्रालय पाएका छैनन् ।
१४ सदस्यीय मन्त्रिपरिषद्मा नेकपा (एमाले)बाट अमनकुमार मास्के भौतिक पूर्वाधार, प्रकाश श्रेष्ठ कृषि, किरण थापामगर स्वास्थ्य, कृष्णप्रसाद सिलवाल वन, प्रेमभक्त महर्जन श्रम तथा रोजगार र शुकमाया तामाङ उद्योगमन्त्री बनेका छन् ।