
ढाका– बङ्गलादेशी प्रहरी जासुसहरूले शुक्रबार ‘घातक अशान्ति’को आरोपमा विद्यार्थी आन्दोलनका तीन नेतालाई अस्पतालबाटै पक्राउ गरेका छन् । उनीहरूलाई डिस्चार्ज गर्न बाध्य बनाई अज्ञात स्थानमा लगिएको एक कर्मचारीले बताएका छन् ।
पक्राउ परेका आसिफ महमुद, नाहिद इस्लाम र अबु बेकर मजुमदार सबै स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसनका सदस्य हुन् । उक्त समूह निजामती सेवा भर्ती नियमविरुद्धको आन्दोलनका नेतृत्वकर्ता रहेको प्रहरीको आरोप छ ।
विभिन्न रिपोर्टअनुसार प्रहरीको कारबाही र झडपमा परी कम्तीमा एक सय ९३ जनाको मृत्यु भएको छ । यसलाई प्रधानमन्त्री शेख हसिनाको कार्यकालको सबैभन्दा ‘खराब अशान्ति’का रुपमा व्याख्या गरिएको छ ।
तीनैजना नेताको राजधानी ढाकास्थित एक अस्पतालमा उपचार भइरहेको थियो । उनीहरू हिरासतमा प्रहरीको यातनाका कारण घाइते भएका थिए ।
गोनोष्ठय अस्पतालका सुपरभाइजर अनवरा बेगम लकीले भने, ‘प्रहरीले उनीहरूलाई हामीबाट लगे, लिन आएकाहरू जासुसी शाखाका थिए ।’ विद्यार्थी नेताहरूलाई आफूले डिस्चार्ज गर्न नचाहेको तर प्रहरीले अस्पताल प्रमुखमाथि डिस्चार्ज गर्न दबाब दिएको उनले बताए ।
विद्यार्थी नेता इस्लामकी दिदी फातेमा तस्निमले पनि सादा कपडा लगाएका जासुसहरूले तीन जनालाई लगेको बताइन् ।