२७ जेठ २०८३, बुधबार

आन्तरिक पर्यटकको रोजाइमा महावै पाटन

साउन १३, २०८१
कालीकोट
आन्तरिक पर्यटकको रोजाइमा महावै पाटन

कालीकोट र दैलेखको सिमाना रहेको महावै पाटन हिउँदका साथै वर्षामा पनि मनमोहक देखिन्छ । चारैतिर अग्ला-अग्ला लेक र धार्मिक रूपमा पवित्र मानिने महावै पाटन पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षण केन्द्र बन्दै गएको हो ।

पाटनमा हिउँदमा हिउँ र वर्षा याममा हरियाली रहने भएकाले आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्रका रूपमा रहेको कालीकोट महावै गाउँपालिका–४ ओदानकुका रजबहादुर शाहीले बताए । कालीकोट र दैलेखको सिमाना पर्ने भएकाले अहिले दुवै जिल्लाले पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमा जोड दिन थालेका छन् । 

महावै पाटनका नामबाट दैलेखमा महावु र कालीकोटमा महावै गाउँपालिका नामकरण गरिएको छ । पाटनका बीचमा रहेको डुङ्गामाथि शिवको मन्दिर छ । हरेक वर्ष जनै पूर्णिमामा यहाँ मेला लाग्ने गर्दछ । मेलाका अवसरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । 

शिव मन्दिरलाई यहाँका स्थानीयले महावु जगन्नाथ भन्ने प्रचलन रहेको बताउँदै महावै जगन्नाथलाई पनि महादेवको प्रतीकका रूपमा लिने गरिएको शाहीले बताए । 'पूजाप्रार्थना गरे मनोकाङ्क्षा पूरा हुन्छ भन्ने जनविश्वास रहिआएको छ,' उनले भने, 'शिव मन्दिरको मेला भर्नका लागि प्रत्येक वर्ष जनै पूर्णिमाका दिन कालीकोट, दैलेख, जुम्ला, जाजरकोट र सुर्खेतबाट श्रद्धालु भक्तजन यहाँ आउने गर्छन् ।'

देशका एक सय महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको सूचीमा महावुधाम समेटिएको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए । यस क्षेत्रको भौतिक पूर्वाधारसहित विकासमा पहल थालिएको उनको भनाइ छ । 'यहाँको पर्यटन प्रवर्द्धन गर्न धर्मशालालगायत अन्य भौतिक संरचना निर्माणको पहल थालेका छौं,' उनले भने, 'पर्यटन विकासका लागि दुवै जिल्लाका स्थानीय तह र प्रदेश सरकारले पनि कामको थालनी गरेका छन् ।'

धाममा धर्मशाला, सडक र मन्दिरलगायत अन्य संरचना निर्माण गर्न ठूलो रकमको आवश्यकता रहेको उनले बताए । अहिले दैलेखको नारायण नगरपालिका हुँदै महावै पाटन भएर जुम्ला जाने सडक निर्माण भइरहेको उनले जानकारी दिए ।

उनका अनुसार यहाँबाट जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, बर्दिया, टीकापुर र नेपालगन्जका अधिकांश स्थान देख्न सकिन्छ ।

'महावैमा वर्षा याममा कालीकोट र दैलेखबाट चरनका लागि ल्याउने भेडाबाख्रा तथा गाई-भैँसीलाई गोठ बनाइएका छन्,' अध्यक्ष सिंहले भने, 'वर्षायाममा हरियाली फाँटमा भेडाबाख्रा, घोडा, गाई-भैँसीका बथान देख्न सकिन्छ, यसले यहाँको आकर्षण थप बढाएको छ ।'

salt training

कमेन्ट गर्नुहोस्