
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका वामपन्थीहरूबीच एकता सम्भव नभएको बताएका छन् ।वामपन्थीबीचको एकताको कथा असफल भइसकेकाले पुरानै तवरबाट अघि बढ्न नसकिने उनको भनाइ छ ।
प्रेस चौतारी दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले कम्युनिस्ट पार्टी एकताको प्रहसन अब नदोहरिने दाबी गरे ।
‘नेताको टाउको जोडेर गरिने एकता दिगो हुँदैन । त्यो हामीले ब्यहोरिसक्यौं । अब कार्यकर्ताको मन जोडेर राजनीतिक धुव्रीकरण जरुरी छ,’ महासचिव पोखरेलले भने, ‘कम्युनिस्टमा विचार राख्नेहरू एमालेतिर र पुँजीवादी समाजवाद व्यवस्थामा विचार राख्नेहरू कांग्रेसतर्फ धुव्रीकरण हुन आवश्यक छ । यसरी बलियो राजनीतिक शक्ति निर्माण गर्न सकिन्छ ।’
साना राजनीतिक दलहरूले अनावश्यक बार्गेनिङ गर्दै सत्तामा पुग्ने र मुलुकमा निरन्तर अस्थिरता सृजना हुने अवस्था आएपछि दुई ठूला दल एक ठाउँमा आउनु परेको महासचिव पोखरेलले स्पष्ट पारे ।
संविधानसभाबाट संविधान जारी गर्ने बेलामा भएको जस्तै प्रमुख राजनीतिक दलहरूबीच सहकार्य भएको उनले बताए ।
‘संवैधानिक संरचनालाई बलियो बनाउने गरी दलहरूको बीचमा सहकार्य भएको हो । ढुक्क भएर शासन गर्ने, स्थिर सरकार अनि बलियो प्रतिपक्ष निर्माण गर्न संवैधानिक संरचनामा सुधार गर्न हामी अघि बढेका छौं,’ उनले भने, ‘हामीलाई विश्वास छ । संविधानको पक्षमा व्यापक र फराकिलो सहमति निर्माणको बाटोमा अघि बढ्छौं ।’