२४ जेठ २०८३, आइतबार
सत्तामा फर्किएपछि कांग्रेस बैठक

कांग्रेस केन्द्रीय समितिका ६ एजेन्डा– महासमितिको प्रस्ताव पारितदेखि ४ महिने अभियानसम्म

साउन २२, २०८१
काठमाडौं
कांग्रेस केन्द्रीय समितिका ६ एजेन्डा– महासमितिको प्रस्ताव पारितदेखि ४ महिने अभियानसम्म

बुधबारदेखि शुरू हुने नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा मुख्य ६ एजेन्डामा छलफल हुने भएको छ ।

महासमिति बैठकको निर्णयलाई अन्तिम रूप दिने, आन्तरिक संरचनालाई प्रभावकारी बनाउने, केन्द्रदेखि प्रदेशका सरकारलाई व्यवस्थित रूपमा चलाउनेसहितका विषयमा छलफल गर्न कांग्रेसको केन्द्रीय समिति बैठक बस्न लागेको हो । 

बैठकपूर्व सोमबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले केन्द्रीय समितिको बैठकका एजेन्डा तय गरेको थियो । 

गत फागुनमा सकिएको महासमिति बैठकको निर्णयलाई अन्तिम रूप दिएर पारित गर्ने, भ्रातृ संस्थाको अधिवेशन सुनिश्चित गर्न छुट्टा–छुट्टै निर्देशक समिति गठन गर्ने तयारी गरेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

त्यस्तै, पार्टी संगठनका लागि ४ महिने अभियान चलाउने, केन्द्रदेखि प्रदेशसम्मका सरकारलाई प्रभावकारी बनाएर नागरिकको निराशा चिर्ने, जिल्लामा रिक्त पदाधिकारी र विभिन्न सदस्यको टुंगो लगाउने तथा अनुशासन समितिको कामको विषयमा मुख्य छलफल गर्ने एजेन्डा रहेको पौडेलको भनाइ छ । 

‘कांग्रेस महासमिति बैठकको निर्णयलाई महासमिति सदस्यले दिएका सुझावलाई समेटेर केन्द्रीय समितिले परिमार्जनसहित पास गर्ने भनेको थियो । उपसभापति र महामन्त्रीका तीनवटा प्रस्ताव परिमार्जनसहित सुझाव तयार भएको छ,’ पौडेलले लोकान्तरसँग भने, ‘यसमा केन्द्रीय सदस्यको सुझाव समेट्न तीन/चार दिन बैठक चल्छ । अनि महासमितिको बैठकको निर्णय सार्वजनिक हुन्छ ।’ 

यी प्रस्तावलाई अध्ययनका लागि केन्द्रीय सदस्यलाई दिइएको जानकारी उनले दिए । 

वर्षौंदेखि अलपत्र परेका पार्टीका भ्रातृ संस्थाको अधिवेशन गरेर व्यवस्थित गर्ने विषय कांग्रेस बैठकको अर्को प्रमुख एजेन्डा बनेको छ ।

‘नेविसंघ, तरुण दल र महिला संघसहितका धेरै भ्रातृ संस्थाको अधिवेशन गर्न बाँकी छ । यसका लागि कार्यसम्पादन समितिले निर्देशन समिति बनाएर २०८१ चैतसम्म अधिवेशन गर्ने निर्णय गरिसकेको छ,’ पौडेलले भने, ‘कांग्रेस बैठकले भ्रातृ संस्थालाई जीवन्त र गतिशील बनाउने, थप संगठित गर्ने तयारी गरेको छ । यसका लागि प्रत्येक भ्रातृ संस्थाको लागि छुट्टै निर्देशक समिति बनाउने छ ।’

केन्द्रीय सदस्य ४ महिना जिल्लामा खटिँदै

पछिल्लो समय संगठनमा सुस्तता आएपछि कांग्रेसले संगठनलाई चुस्तदुरुस्त राख्न भन्दै ७७ वटै जिल्लामा केन्द्रीय सदस्यलाई ४ महिना खटाउने भएको छ । यससम्बन्धी औपचारिक निर्णय कांग्रेसको बुधबारदेखि बस्ने बैठकले गर्दैछ । 

‘कांग्रेसले पार्टी संगठनलाई चुस्तदुरुस्त बनाउने तयारीलाई प्राथमिकता दिएको छ । यसैका लागि केन्द्रीय समितिको बैठकअघि पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बसेर केन्द्रीय सदस्यलाई जिल्लामा खटाउनेबारे छलफल गरेको थियो,’ मुख्य सचिव पौडेलले भने, ‘पार्टीले एक केन्द्रीय सदस्यलाई कम्तीमा चार महिनासम्म एउटा जिल्लामा खटाएर संगठन सुदृढीकरणको अभियान चलाउने तयारी छ । ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाउने निर्णय बैठकले गर्नेछ ।’ भदौबाटै यस्तो अभियान थाल्ने तयारी कांग्रेसको छ । 

रिक्त पदपूर्ति

कांग्रेसले पार्टीका प्रदेश, जिल्ला र क्षेत्रीय समिति सहितमा रिक्त रहेका पदमा पदपूर्ति गर्ने तयारी पनि गरेको छ । ‘१४ औं महाधिवेशनपछि विभिन्न जिल्लामा विभिन्न कारणले पद रिक्त छन्,’ पौडेलले भने, ‘यी पद लामो समय खाली राख्न हुँदैन भनेर पदपूर्तिको निर्णय पनि पार्टीले लिन्छ ।’

कांग्रेस केन्द्रीय समिति बैठकमा निर्वाचनमा भएका अन्तर्घातसहितका विषयमा छानबिन गर्न बनेको अनुशासन समितिको रिपोर्टबारे पनि छलफल गर्ने तयारी छ । 

जनप्रतिनिधिका लागि निर्देशिका 

कांग्रेसमा मन्त्री र जनप्रतिनिधिका कामका विषयमा सधैँ प्रश्न उठ्ने भएपछि पार्टीले कार्यसम्पादन निर्देशिका बनाउनेबारे पनि छलफल गरेको छ । कांग्रेसका एक नेताले संघ र प्रदेशका मन्त्री र स्थानीय जनप्रतिनिधिका विषयमा गुनासो आएपछि कार्यसम्पादन निर्देशिका बनाउनेबारे छलफल भएको जानकारी दिए । 

‘पार्टीबाट केन्द्र र प्रदेशमा मन्त्री सांसद बने पनि कार्यसम्पादन प्रभावकारी नभएको, पार्टीसँग समन्वय नगरेको गुनासो धेरै आएका छन्,’ ती नेताले भने, ‘यो मन्त्री, सांसद र पार्टीको तर्फबाट जितेका स्थानीय तहका जनप्रतिनिधिको सवालमा पनि हो । यसैले पार्टीको नीतिअनुसार प्रभावकारी कार्यसम्पादन गर्न यस्तो निर्देशिका बनाउनेबारे छलफल भएको छ ।’

यस्तो निर्देशिका पार्टीको केन्द्रीय समिति बैठकले बनाउने कि छुट्टै बनाउने भन्ने तय नभएको ती नेताले जानकारी दिए । कांग्रेस केन्द्रीय समिति बैठकले एमालेसहितको सरकारबाट राजनीतिक स्थायित्व दिने विषयमा पनि निर्णय गर्ने तयारी गरेको छ ।

एमालेसँग भएको सहमतिलाई केन्द्रीय समितिले अनुमोदन गर्ने, केन्द्रदेखि प्रदेशसम्मका सरकारलाई प्रभावकारी बनाएर नागरिकको निराशा चिर्ने विषयलाई पनि कांग्रेसले प्राथमिकतामा राखेको नेताहरू बताउँछन् । 

गत फागुन ७ देखि १० गतेसम्म कांग्रेस महासमिति बैठक चलेको थियो । तर, कतिपय विषयमा विवाद हुँदा महासमिति सदस्यको सुझावलाई समेटेर केन्द्रीय समितिले पारित गर्ने गरी बैठक सकाइयो । तर, ६ महिनासम्म यो विषय अन्योलमा पर्दै आएको थियो ।

महासमितिका बेला कांग्रेस र माओवादीको समीकरण थियो । लगत्तै कांग्रेस सत्ताबाट बाहिरियो । एमाले सत्तामा भित्रिएपछि फेरि अर्को परिस्थिति बन्यो ।

फेरि गत असार १७ गते कांग्रेस र एमालेबीच नयाँ समीकरण बनाउने समझदारी बन्न पुग्यो । यो समझदारीपछि असार ३० गते एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बने । 

राजनीतिक परिस्थिति निरन्तर फेरिएपछि कांग्रेसले महासमितिका निर्णयलाई पटक–पटक परिवर्तन र परिमार्जन गर्नुपर्ने स्थिति बनेको थियो । 

अब भने दुई दलबीच २०८४ को चुनावसम्म सत्ता सहयात्रा गर्ने समझदारी बनेको छ, यसैले कांग्रेसले महासमितिको निर्णयलाई पार्टीबाट पारित गरेर सार्वजनिक गर्ने तयारी गरेको हो । 

कांग्रेस बैठक भोलि (बुधबार) दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्दैछ ।

salt training

कमेन्ट गर्नुहोस्