२१ जेठ २०८३, बिहीबार

कलाको नगरीमा आदिवासीको शान

कात्तिक २०, २०७४
कलाको नगरीमा आदिवासीको शान

ललितपुर, ११ कात्तिक– कलाको नगरी पाटनको ज्यापू समाजद्वारा स्थापित ‘ज्यापू संग्रहालय’ले उक्त समुदायको मौलिक पहिचानलाई उजागर गर्ने प्रयास गरेको छ ।

वाग्मती सभ्यताको विकास क्रममा वाग्मती नदीको दक्षिणी तटमा अवस्थित पाटनमा बसोबास गरिरहेका ४० टोलका ज्यापू समुदायको जीवनशैलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पहिचान गराउने उद्देश्यले सग्रहालय स्थापना भएको सङ्ग्रहालयमा परापूर्वकालदेखि ज्यापूको जीवनयापनसँग जोडिँदै आएका भाषा, धर्म, संस्कृति, वेशभूषा तथा रहनसहनलाई समेटेको छ । संग्रहालयको स्थापनाले सो समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।

सो क्षेत्रमा हाल ४० हजार आदिवासी ज्यापू बस्छन् । कृषि पेशालाई आधार बनाएर आफ्नो दैनिक जीवन गुजारा चलाउँदै यही क्षेत्रबाट राष्ट्रको इज्जत र प्रतिष्ठा राख्नसमेत उक्त समुदायको उल्लेखनीय योगदान रहेको मानिन्छ । यसबाहेक हस्तकला नगरी बनाउन यस समुदायको थप योगदान रहेको छ ।

यहाँका प्रायः हरेक संरचना हस्तकलाबाट निर्मित भएको सजिलै देख्न पाइन्छ । यहाँ अवस्थित मठमन्दिर पौराणिक वास्तुकला झल्कनेखालका कलाकृतिले भरिपूर्ण भएको देख्न सकिन्छ । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रबाट ५०० मि पूर्वी दूरीमा पर्ने उक्त संग्रहालयसम्म आइपुग्दा विभिन्न स्थानमा नेवारी परम्परा झल्कनेखालको ऐतिहासिक भौतिक संरचनाको अवलोकनसमेत गर्न सकिन्छ ।

बहत्तरौँँ संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा स्थापित संग्रहालयभित्र ज्यापू समुदायको इतिहास झल्कनेखालका कलाकृति रहेको ज्यापू समाजका अध्यक्ष प्रेम महर्जनले बताउनुभयो । उहाँका अनुसार उक्त समुदायका भाषा, धर्म, संस्कृति, रीतिरिवाजलाई जोगाइराख्न संग्रहालयले मद्दत पुर्याउने छ ।

संग्रहालयमार्फत भावी सन्ततिले ज्यापूका विषयमा थप अध्ययन र अनुसन्धान गर्न सकिने उहाँले विश्वास व्यक्त गरे । संग्रहालयका कारण पाटन नगरीमा आन्तरिक तथा बाह्य पर्यटकसमेत वृद्धि हुने उनको विश्वास छ ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले समाजद्वारा स्थापना गरिएको संग्रहालय वाग्मती सभ्यताको प्रतीक रहेको बताए । उनका अनुसार संग्रहालयबाट ज्यापू समुदायको ऐतिहासिक मौलिक वस्तुका बारेमा अध्ययन गर्न सकिने छ । ‘परापूर्वकालदेखि चल्दै आएको उक्त समुदायको जीवनशैलीको थप अनुसन्धान गर्न संग्रहालयबाट मद्दत पुग्ने छ,’ उनले भने । संग्रहालय पर्यटनको थप आकर्षणको विन्दु रहनसक्ने उनको तर्क छ । यहाँ आगमन हुने पर्यटकबाट यहाँका मानिसको जीवन आर्थिक एवं सामाजिक रुपले परिवर्तन हुँदै जाने उनको धारणा छ ।

‘राष्ट्रको विकास जहाँतहीँ बाटो पुर्याएर मात्र नभएर मौलिक पहिचान भएका वस्तुको संरक्षणबाट पनि हुनुपर्छ,’ उनले भने । पर्यटक आगमनमा सक्दो वृद्धि गराउन सकेमा यहाँका कलाकृतिका बारेमा अन्तर्राष्ट्रिय जगतमा फैलाउन सक्ने उनले बताए ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संग्रहालय स्थापनाले पर्यटन विकासमा थप टेवा पुगेको बताए । ‘संग्रहालयभित्र राखिएका हरेक वस्तु ज्यापू समुदायको मौलिकता झल्कने खालका छन्,’ उनले भने ।

विसं २०७२ को भूकम्पले ध्वस्त बनाएका सम्पदाका संरचनाको पुनःनिर्माण द्रुत गतिले भइरहेको बताउँदै पाटनलाई पर्यटकीय नगरी बनाउन सिंगो ललितपुरवासी लागिपरेको उनको भनाइ छ । यहाँ आउने पर्यटकलाई लगाइने प्रवेश शुल्कमा एकद्वार प्रणाली अपनाइने छ । सो कार्यमा ज्यापू समाजलाई पनि सहभागी गराइने छ ।

समाजका सहसचिव सरिता महर्जनका अनुसार संग्रहालयभित्र नेवार जातिले लगाउने वेशभूषा, दैनिक रुपमा प्रयोग हुने घरायसी सामान, माटाबाट तयार हुने उपकरण, विभिन्न चाडपर्वमा तयार पारिने खाद्य सामग्रीलगायत देख्न सकिन्छ । यहाँ मच्छिन्द्रनाथ रथ यात्रा र पहिलेको वाग्मती तथा हिमाल, तराई, पहाडका तस्वीरसमेत तस्वीर, नेवार समुदायले लगाउने गरगहना तथा नेवार समुदायमा गरिने दशकर्म पूजाका सामग्रीसमेत यहाँ राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्