
गुल्मीमा पहिरोमा पुरिएर मृत्यु भएकाहरूको सामूहिक दाहसंस्कार गरिएको छ ।
जिल्लाको मुसिकोट नगरपालिका‐ १ बिसौनामा मङ्गलबार बिहान पहिरोमा परेर मृत्यु भएका दुई घरपरिवारका चार जनाको आज स्थानीय बढीगाढ खोलामा सामूहिक दाहसंस्कार गरिएको हो ।
मङ्गलबार बिहान ९ बजे बिसौनाका विष्णु विकको घर पहिरोले पुरिँदा उनकी ६६ वर्षीया आमा मसुरी विक, दुई वर्षीया छोरी रियन्सी विक, ६७ वर्षीय हुकुम विक र ४६ वर्षीय गोरे विकको मृत्यु भएको थियो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले सदरमुकाम तम्घासबाट चिकित्सक पठाएर घटनास्थलमै शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको थियो । उक्त शवलाई आज बिहान हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको हो ।
उक्त घटनामा विष्णु विक र उनकी श्रीमती मुना विक गम्भीर घाइते भएका छन् ।
उनीहरूको अहिले मेडिकल कलेज प्रवास पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यसअघि गत असार १४ गते गुल्मीको मालिका गाउँपालिका‐ ६ अर्जेमा पहिरोले घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको थियो ।