
प्रहरीले काठमाडौंको गौरीघाटबाट कोशी प्रदेशका नेकपा एमालेका पूर्व मन्त्री एवं प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीसहित ११ जनालाई पक्राउ गरेको छ ।
काभ्रे घर भएर गौरीघाटमा बस्दै आएका राजु महतको घरमा शनिबार अपरान्ह जुवा खेलिरहेका बेला उनीहरूलाई प्रहरी वृत्त गौशालाको टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा राजभण्डारी, सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्व अध्यक्ष वीरबहादुर राई, उत्तमकुमार राई, अनिश तामाङ, ठूला तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत, माधव थापा र कलाकार पुरुषोत्तम शर्मालगायत छन् ।
शर्मा टेलिसिरियल ‘सक्किगोनि’का कलाकार समेत हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार पक्राउ परेका जुवाडेमाथि जुवा ऐनमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।