१० साउन २०८३, आइतबार

माओवादीको स्थायी कमिटीमा २७ जना बोले, बैठक आज पनि बस्दै

साउन २८, २०८१
काठमाडौं
माओवादीको स्थायी कमिटीमा २७ जना बोले, बैठक आज पनि बस्दै
फाइल फोटो

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अहिलेसम्म २७ सदस्यले आफ्नो धारणा राखेका छन् ।

संगठन निर्माण र विस्तार, जनपरिचालन, समसामयिक राजनीतिमा केन्द्रित रहेर सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

केही दिनदेखि जारी बैठकमा ४४ मध्ये २७ जनाले धारणा राखेको र बाँकी सदस्यले धारणा राखेपछि बैठक सकिने उनले बताए ।

‘बैठकमा संगठन निर्माण र विस्तार, जनपरिचालन, समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर सदस्यहरूले बोलिरहनुभएको छ,’ सापकोटाले लोकान्तरसँग भने, ‘सोमबार पनि २ बजेपछि बैठक बोलाइको छ । सबै सदस्यहरूले धारणा राखेपछि पार्टीले संगठन निर्माण, विस्तार, जनपरिचालन गरेर जनताको तह लक्षित कार्यक्रम ल्याउँछ ।’

स्थायी कमिटी बैठक लगत्तै केन्द्रीय कमिटीको बैठक राखेर यस्ता कार्यक्रम लिएर जनतामा जाने तयारीमा माओवादी छ । 

नागरिक तहमा कार्यक्रम लिएर जाने एजेन्डा एकातिर भए पनि माओवादीभित्र नेतृत्वलाई दबाब पुग्ने गरी सदस्यहरूले धारणा राखिरहेका छन् ।

उपमहासचिव जनार्दन शर्माले पार्टी निरन्तर कमजोर बन्दै गएको भन्दै १४ पृष्ठको प्रस्ताव पेश गरेका छन् । जसमा उनले पार्टी निर्माणका लागि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेतृत्व हस्तान्तरण गर्नुपर्नेसम्मका विषय उल्लेख छन् । 

प्रचण्डलाई महाधिवेशनबाट चुनिएर आउनुपर्ने, संरक्षक बसेर पार्टीमा नयाँ नेतृत्व विकास गर्नुपर्ने वा पुस्तान्तरण गर्नुपर्नेसहितका सुझाव शर्माले दिएका छन् ।

शर्माले केही समययता पार्टीमा टिके होइन निर्वाचित प्रणालीबाट नेतृत्व चयनको विषयलाई प्राथमिकता दिँदै आएका छन् । 

अन्य सदस्यहरूले समेत पार्टी सत्तामा गए पनि निरन्तर सांगठनिक रूपमा कमजोर बन्दै गएको भन्दै जनतामाझ विशेष कार्यक्रम लिएर जानुपर्ने सुझाएका छन् ।

९ वर्षपछि सत्ता विमुख हुनुले पार्टी निर्माण गर्ने अवसर आएको भन्दै यसैमा केन्द्रित हुनुपर्ने सुझाव अधिकांश सदस्यहरूको छ ।

salt training

कमेन्ट गर्नुहोस्