
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएसँगै न्यायको लामो प्रतिक्षामा रहेका द्वन्द्वपीडितहरूमा न्याय पाउने आशा पलाएको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) सम्बन्धी विधेयक, २०८१ पारित भएसँगै सङ्क्रमणकालीन न्याय निष्कर्षमा पुग्ने आशा पलाएको हो ।
विधेयकमा दुई आयोगका सिफारिस गठन भएको बढीमा दुई महिनाभित्र अध्यक्ष तथा सदस्यको नाम सिफारिस गरिसक्नुपर्ने र पदाधिकारीको समय नियुक्ति भएको मितिले चार वर्षको हुने व्यवस्था गरिएको छ ।
आयोगमा अभ्यास तथा सदस्यको पदमा नियुक्ति भएपछि आयोगले सशस्त्र द्वन्द्वका क्रममा जबर्जस्ती करण वा गम्भीर यौनजन्य हिंसामा परेका पीडित वा निजकोतर्फबाट उजुरी दिन छुट भएको भए आयोगमा उजुरी दिन एकपटकका लािग तीन महिनाको म्याद दिइ सार्वजनिक सूचना प्रकाशन गरी आयोगले उजुरी माग गर्ने उल्लेख छ ।
त्यस्तै, ऐनमा जुनसुकै कुरा लेखिएको भए पनि मानव अधिकार उल्लङ्घनका घटनाको कारबाही वा मुद्दा जुनसुकै चरणमा रहेको भए पनि पीडितको स्वतन्त्र सहमतिमा मेलमिलाप गराउने सकिने व्यवस्था रहेको छ ।
आयोगले परिपूरणका लागि गरेको सिफारिसमा चित्त नबुझेमा पीडितले त्यसको आधार र कारण खोली निवेदन दिनुपर्ने र मनासिव देखिएमा विशेष अदालतमा निवेदन दिनसक्ने व्यवस्था रहेको छ ।
पुनरावलोकन सुन्ने प्रयोजनका लागि सर्वोच्च अदालतमा सङ्क्रमणकालीन न्यायसम्बन्धी संयुक्त इजलास रहने र त्यसका लागि प्रधानन्यायाधीशले आवश्यकताअनुसार सर्वोच्च अदालतका न्यायाधीशको सूची तयारगरी सोमध्येबाट इजलास तोक्ने व्यवस्था विधेयकमा छ ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा द्वन्द्वको किस्ता व्यवस्थापन भइसक्यो भन्ने सन्देश विश्वलाई दिन लागेको बताएका छन् । बुधवार संसदमा टीआरसी विधेयकबारेको छलफलमा भाग लिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक अप्ठ्यारोमा रहँदा सबै मिलेर समस्या समाधान गर्ने अभ्यास नेपालीमा रहेको भन्दै शान्ति प्रक्रियाका बाँकी काममा पनि सबै दल मिल्नुपर्ने बताएका छन् । देउवाले सबै दल मिलेर बाँकी कामलाई पनि अगाडि बढाउनुपर्ने बताएका हुन् ।
यसैगरी संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्बन्धमा भएको सहमतिप्रति अन्तर्राष्ट्रिय समुदायको मूलभूत समर्थन रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेका छन् । सहमति पीडितमैत्री रहेको उनले जिकिर गरे ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन विद्रोही माओवादीसँग सहमति गरेबापत केपी शर्मा ओलीले कारबाहीको कुरा गरेको आरोप लगाएका छन् । शान्ति प्रक्रिया शुरू गर्न आफूले धेरै मेहनत गरेको उनले बताए ।
००००
सर्वोच्च अदालतले ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका लागि आवश्यक कानुन बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश गरेको छ ।
न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र अब्दुल अजीज मुलसमानको संयुक्त इजलासले २०८१ वैशाख १७ गते गरेको फैसलाको आज सार्वजनिक गरेको पूर्णपाठमा उक्त कानुन बनाउन नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको उल्लेख छ ।
००००
जनता समाजवादी पार्टी (जसपा) नेपाल केन्द्रीय समिति बैठकले सङ्गठन विस्तारका लागि चार महिने जनअभियानमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
यही साउन २७ गतेदेखि शुरू भई बुधवार सम्पन्न केन्द्रीय समिति बैठकले सदन र सडकमा बलियो उपस्थिति जनाउँदै सङ्गठन निर्माणका लागि जनअभियानमा होमिने निर्णय गरेको हो ।
००००
चिकित्सा शिक्षा आयोगले एकीकृत परीक्षाका लागि योग्यता नपुगेका विद्यार्थीको परीक्षा शुल्क फिर्ता गर्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको निर्देशनपछि आयोगले योग्यता नपुगेका विद्यार्थीको परीक्षा शुल्क फिर्ता गर्ने भएको हो । आयोगको बुधबार बसेको कार्यकारी समितिको बैठकले योग्यता पुगेका उम्मेदवारलाई प्रवेशपत्र जारीगरी परीक्षामा सामेल गराउने र तोकिएको न्यूनतम शैक्षिक योग्यता पूरा नगरेका आवदेकको आवेदन फाराम रद्दगरी परीक्षा शुल्क फिर्ता गर्ने निर्णय गरिएको आयोगका उपसचिव मञ्जु अधिकारीले जानकारी दिइन् ।
००००
गत असार ३१ गतेसम्म प्रतिबोरा २०५० देखि २२५० पर्ने जीरा मसिना चामल साउन महिनादेखि २३५० देखि २५५० सम्म पुग्यो । प्रतिबोरा १६५० रुपैयाँदेखि १७५० रुपैयाँ पर्ने सोना मन्सुली चामल १८५० देखि १९०० रुपैयाँ सम्म पुग्यो र प्रतिबोरा २४५० देखि २६५० रुपैयाँ पर्ने लङ ग्रेन चामल २८०० देखि २९०० रुपैयाँ पुग्यो ।
नेपाल खुद्रा व्यापार संघका अनुसार साउनदेखि सबै चामलको मूल्य करिब १० प्रतिशतले बढेको छ । तर, खुद्रा व्यापारीहरूले भने आआफ्नो मूल्य राखेर बेचिरहेका छन् । माथि उल्लेख गरिएको मूल्यअनुसार साउनमा १०० देखि २०० रुपैयाँ प्रतिबोरा बढेको भनिए तापनि व्यापारीहरूले भने आफ्नै शैलीमा २०० देखि ४०० रुपैयाँले मूल्य बढाएका छन् ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर गरिएको रिट खारेज भएको छ ।
सर्वोच्चको संवैधानिक इजलासले बुधवार उक्त रिट खारेज गरेको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी सम्मिलित संवैधानिक इजलासले उक्त रिट खारेज गरिदिएको हो ।
संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथविरुद्ध साउन १४ गते सर्वोच्चमा रिट परेको थियो ।
००००
ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख (मेयर) गजेन्द्र महर्जन, उपप्रमुख (उपमेयर) मुना अधिकारीसहित १४ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।
खानी तथा खनिजजन्य वस्तुको बिक्रीबाट प्राप्त हुने राजस्व हिनामिना गरेको अभियोग लागेका उनीहरूले सफाइ पाएका हुन् ।
००००
आगामी भदौ ११ देखि १६ गतेसम्म नाडा अटो शो–२०२४ हुने भएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ ११ देखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा यस वर्षको अटो शो गर्ने घोषणा गरेको हो ।
०००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३४ दशमलव २९ अङ्कको वृद्धि देखिएको छ । बुधबार नेप्से परिसूचक एक दशमलव १७ प्रतिशतले बढेर दुई हजार नौ सय ५७ दशमलव ७५ को विन्दुमा कायम भएको हो ।