
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई हराएको छ ।
हेगमा बिहीवार राति भएको खेलमा घरेलु टोली नेदरल्यान्ड्सले अमेरिकालाई १९ रनले हराएको हो ।
नेदरल्यान्ड्सले दिएको २३८ रनको लक्ष्य अमेरिकाले भेट्टाउन सकेन । अमेरिका २१८ रनमै अलआउट हुन पुग्यो ।
४८ बलमा ३६ रन चाहिएको अवस्थामा अमेरिकाले पछिल्ला महत्वपूर्ण ५ विकेट गुमाउन पुगेको हो ।
अमेरिकाका लागि मिलिन्द कुमारले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६९ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।
नेदरल्यान्ड्सका भिभान किग्माले सर्वाधिक ३ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले ७ विकेट गुमाउँदै २३७ रन बनाएको थियो ।
नेदरल्यान्ड्सका कप्तान स्कट इड्वर्डले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६५ तथा विक्रमजीत सिंहले ५९ रन जोडे ।
यस जीतपछि ६ खेलबाट ८ अंकसहित नेदरल्यान्ड्स लिगको तेस्रो स्थानमा छ । दुई खेलमा १ जीत र १ हार ब्यहोरेको अमेरिका छैटौं स्थानमा छ ।
चार खेल खेलेको नेपाल २ अंकसहित सातौं स्थानमा रहँदा ७ खेलबाट ९ अंक जोडेको स्कटल्यान्ड शीर्ष स्थानमा छ ।