०८ साउन २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

कांग्रेसमा फेरि लफडादेखि जनार्दनको फरक प्रस्तावमा प्रचण्ड लचकसम्म

साउन ३२, २०८१
काठमाडौं
कांग्रेसमा फेरि लफडादेखि जनार्दनको फरक प्रस्तावमा प्रचण्ड लचकसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक (आइजीपी)लाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटना कारण खोज्न आइजीपी बसन्त कुँवरलाई निर्देशन दिएका हुन् । 

बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोकनजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो ।  ना ६ ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमि वृत्तको जिम्मा लगाएको छ । सो दुर्घटनालाई लिएर बिहीबार दिनभर सो क्षेत्र तनावग्रस्त बनेको थियो । 

००००

नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको थियो  । 

जसअनुसार  पेट्रोलको मूल्य प्रतिलिटर रु पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु तीन घटेको छ ।

००००

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार निर्णय गरेको छ । यसका लागि मन्त्री प्रदीप पौडेलले अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ । 

मन्त्री पौडेलले पदभार सम्हालेलगत्तै गत असार ३१ गते आफ्नो पहिलो निर्णयमा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गरेका थिए। उक्त रणनीतिले सातवटै प्रदेशमा क्यान्सरको परीक्षण तथा निदान गर्ने लक्ष्य लिएको थियो ।

००००

सरकारले परराष्ट्र सचिव सेवा लम्साललाई राजदूत बनाउने गरी निर्णय गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमको राजदूतका रुपमा सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

००००

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकले आगामी असोज पहिलो साता केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बिहीवार सम्पन्न स्थायी समिति बैठकले आगामी भदौ महिनाभित्र प्रदेश, जनवर्गीय सङ्गठन, मोर्चा, सल्लाहकार समिति र आयोगको परामर्श बैठक सम्पन्न गरी असोज पहिलो साता केन्द्रीय समिति बैठक राख्ने निर्णय गरेको हो ।

००००

प्रचण्डले नेकपा एमालेको मुभ नबुझ्दा सत्ता गुमेको बताएका छन् । पार्टीको स्थायी कमिटी बैठकमा बिहीवार सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले राम्रो काम गरे पनि एमालेको मुभ नबुझ्दा सरकार छोड्नुपरेको गुनासो पोखेका हुन् ।

यस्तै प्रचण्डले बैठकमा पार्टी विभाजन हुन्छ भन्ने मनसाय कुनै पनि नेताको नभएको ब्रिफिङ गरेको नेता लीलामणि पोखरेलले जानकारी दिए । बैठकमा नेताहरूले आफूलाई लागेको कुरा निर्धक्क बोलेको भन्दै प्रचण्डले पार्टी एकताबद्ध भएर जानेमा ढुक्क रहेको बताएका थिए ।  

यसैबीच प्रचण्ड नेता जनार्दन शर्माको फरक मतमा लचक देखिएका छन् । जनार्दनको फरक प्रस्तावलाई प्रदेशस्तरसम्म छलफल चलाउने गरी समझदारी भएको हो ।

साउन २५ गते अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘वर्तमान परिस्थिति र पार्टी निर्माणको नयाँ कार्यभार’ सम्बन्धी मौखिक प्रस्ताव पेस गरेका थिए । तर अध्यक्षको प्रस्तावमा असहमति जनाउँदै शर्माले १४ पृष्ठ लामो पुरक प्रस्ताव पेस गरेका थिए । जुन प्स्ताव तल्लो तहसम्म छलफलका लागि लैजानुपर्ने अडान शर्माको थियो । सोहीअनुसार प्रचण्ड प्रदेशस्तरीय छलफलमा यसबारे छलफल चलाउन सहमत भएको एक नेताले बताए ।

००००

गत फागुनको महासमिति बैठकमा जस्तै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावले नेपाली कांग्रेसको केन्द्रीय समितिमा पनि विवाद उत्पन्न गरेको छ ।

महासमिति सदस्यहरूको सुझावका आधारमा आवश्यक संशोधनसहित ६ महिनापछि प्रस्तावहरू पारित गर्न खोजिएको छ । तर, केन्द्रीय समिति बैठकमा यी प्रस्तावका एक्जिट पोलिसी, चुनावी गठबन्धनसहितका विषयले विवाद भएको हो । महामन्त्री थापाले सांगठनिक र शर्माले समसामयिक राजनीतिक विषयमा प्रस्ताव ल्याएका थिए । 

केन्द्रीय समिति बैठकमा गगन–विश्वले संशोधनसहित प्रस्ताव नल्याउँदा समस्या भएको जानकारी कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दिए । 

महामन्त्रीद्वयको प्रस्तावमा सदस्यहरू समान मतमा पुग्न समय लाग्ने भएकाले बैठक भदौ ७ गतेसम्मका लागि स्थगित गर्नुपरेको उनी बताउँछन् ।

००००

सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले ओरियन्टलसँगै विभिन्न वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा सञ्चालक सुधीर बस्नेतसँग सोधपुछ गरेको छ ।  

झण्डै १० अर्ब रुपैयाँ ठगीको आरोप लागेका बस्नेतमाथि समितिले बिहीवार सोधपुछ गरेको हो ।

००००

महोत्तरीको गौशालास्थित इलाका प्रहरी कार्यालयको कम्पाउन्ड वाल निर्माण कार्यमा भ्रष्टाचार गरेको आरोपमा मधेश प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका तत्कालीन उपसचिव अवधकिशोरप्रसाद कुशवाहासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

००००

करिब ३ वर्षपछि नेप्से परिसूचक ३ हजार बिन्दुमा पुगेको छ ।

बिहीबार ४३.०५ अंकले बढेर नेप्से ३०००.८१ बिन्दुमा कायम भएको हो । कारोबार रकमले पुनस् नयाँ कीर्तिमानी कायम गरेको छ ।

००००

प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट र १०० दिनभित्र गर्न सकिने कामबारे छलफल गरेका छन् ।

उनले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीदेखि सचिवसम्मसँग वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य–मुख्य कामबारे छलफल गरेको उनको सचिवालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्