२६ असार २०८३, शुक्रबार
गुणस्तरमा गडबडी

बजारमा अखाद्य वस्तुको बिगबिगी : घ्यूतेलदेखि सागपातसम्म गुणस्तरहीन, १७८ व्यवसायीविरुद्ध मुद्दा

भदौ २, २०८१
काठमाडौं
बजारमा अखाद्य वस्तुको बिगबिगी : घ्यूतेलदेखि सागपातसम्म गुणस्तरहीन, १७८ व्यवसायीविरुद्ध मुद्दा

बाराको श्रीकृष्ण आयल रिफाइनरी एन्ड भेजिटेबल घ्यू इन्डस्ट्रिज प्रालिको प्रशोधित सोयाबिन तेल न्यून गुणस्तरको पाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साले इन्ड्रस्ट्रिजको सोयाबिन तेल ल्याबमा परीक्षण गर्दा न्यून गुणस्तरीय रहेको पाइएको हो । कार्यालयले इन्ड्रस्ट्रिजविरुद्ध गत जेठ १७ मा जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा नै दर्ता गरेको छ ।

कार्यालयले जेठ १७ गते नै बाराकै जीतपुर सिमरा-३ स्थित नन्दन घ्यू एन्ड आयल प्रालिको वनस्पति घ्यू न्यून गुणस्तरको रहेको भन्दै जिल्ला प्रशासन कार्यालय बारमा मुद्दा दर्ता गरेको थियो । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग डिभिजन कार्यालय धुलिखेलले धुलिखेलस्थित ए वान नुडल्स कम्पनीविरुद्ध पनि मुद्दा दर्ता गरेको छ ।

बरामद गरिएको सिन्के चाउचाउलाई ल्याबमा परीक्षण गर्दा न्यून गुणस्तरीय रहेको पाइएपछि जेठ १८ गते काभ्रेपलाञ्चोक जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो ।

पर्सा र काभ्रेमा मात्रै होइन काठमाडौं उपत्यकामै पनि थुप्रै कम्पनीविरुद्ध मुद्दा दायर गरिएको छ । भक्तपुरको ओके मिनरल वाटर प्रालिविरुद्ध दूषित प्रशोधित पानी बिक्री गरेको आरोपमा मुद्दा दायर भएको छ । काठमाडौंको बलम्भुस्थित महालक्ष्मी दालमोठ उद्योगले ऐनविपरीत दालमोठ बेचेको र ललितपुरको फूलबारी मार्ग कार्यविनायकस्थित सक्षम फूड एन्ड वेभरेज प्रालिविरुद्ध दूषित प्रशोधित पानी बेचेको आरोपमा मुद्दा दायर भएको छ ।

ललितपुरको गोदावरी नगरपालिका-४ स्थित धनेश्वर पियोर वाटर इन्ड्रस्ट्रिजविरुद्ध दूषित प्रशोधित पानी बेचेको र भक्तपुरको चाँगुनारायणस्थित कालिका डेरी कम्पनीले न्यून गुणस्तरको दूध बेचेको आरोपमा मुद्दा दायर भएको छ  ।

काठमाडौंको टोखास्थित गण्डकी हनी कन्सर्न प्रालिले न्यूनस्तरको मह बेचेको, काठमाडौंको गोकर्णेश्वरस्थित अक्वा वर्ल्ड प्रालिले दूषित प्रशोधित पानी बेचेको र काठमाडौं-३२ स्थित सृष्टि प्याकिङ उद्योगले न्यूनस्तरको चिया बेचेको आरोपमा मुद्दा दायर गरिएको छ । 

ललितपुरको तरुण एग्रो प्रालिले ऐनविपरीत चामल बेचेको, ललितपुरको धनकृष्ण घ्यू उद्योगले न्यून गुणस्तरको घ्यू बेचेको र सगुन आयल इन्ड्रस्ट्रिजले न्यून गुणस्तरको भुटेको तोरीको तेल बेचेको भन्दै मुद्दा दायर गरिएको छ ।

यसरी विभिन्न फर्म तथा व्यवसायीविरुद्ध  खाद्य पदार्थ बिक्री वितरण गर्दा ऐन, नियम, मापदण्डविपरीत दूषित र न्यून गुणस्तरीय खाद्य पदार्थ बेचेको भन्दै कार्यालयले मुद्दा दायर गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट प्राप्त विवरणअनुसार  आर्थिक वर्ष २०८०/८१ मा सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा १७८ थान मुद्दा दर्ता गरिएको  हो । 

प्रशोधित पिउने पानीका ४५ वटा, खाद्यान्न/दलहनका २९ वटा र गुलियो पदार्थ/कन्फेक्सनरीका २२ वटा मुद्दा दर्ता भएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । 

त्यसैगरी दूध तथा दुग्ध पदार्थका १६ वटा, मसलाका ९ वटा, फल तथा सागपातजन्य पदार्थका ३ वटा, चिया/कफीका ३ वटा, अन्य खाद्य पदार्थका २१ वटा  र दाना पदार्थका १२ वटा मुद्दा दायर गरिएको उनले बताए ।  

कूल १७८ मध्ये दूषितका ६१ वटा, न्यून गुणस्तरका ५९ वटा, लेबलसम्बन्धी ३५ वटा मुद्दा र खाद्य ऐन नियम निर्देशिका उल्लङ्घनका २३ वटा मुद्दा रहेको महर्जनले बताए ।

विभाग र विभाग मातहतका देशभरका डिभिजन कार्यालयहरूले बजार अनुगमन गर्दा ऐनविपरीत बजारमा बिक्री वितरण भएको पाएपछि मुद्दा दर्ता गरेको गरेका हुन् । आर्थिक वर्ष २०८०/८१ मा खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न विभाग र विभाग मातहत कार्यालयहरूले ३ हजार ६६३ पटक खाद्य तथा दाना बजारको मात्र अनुगमन गरेको थियो । त्यसैगरी खाद्य तथा दाना उद्योगको अनुगमन ३ हजार २७७ पटक, होटल रेष्टुरेन्टको  अनुगमन २५८५ पटक गरिएको विभागका प्रवक्ता महर्जनले बताए ।

रेपिड रेस्पोन्स अनुगमन ५४३ पटक, हाट बजार/मेला महोत्सव अनुगमन ११६ पटक, संवेदनशील खाद्य पदार्थ उत्पादन गर्ने उद्योग अनुगमन १ हजार १९ पटक गरी जम्मा ११ हजार २०३ पटक अनुगमन भएको उनले बताए ।

निरीक्षण अनुगमनका क्रममा खाद्य तथा दाना ऐन नियमानुसार जम्मा ३ हजार १२५ नमुनाहरू संकलन भएको थियो । ऐन बमोजिम संकलित नमूनामध्ये खाद्यान्न/दलहनका ८८७ वटा, फल तथा सागपात जन्य पदार्थ ३५९ वटा, तेल तथा घ्यूजन्य पदार्थ ३२६ वटा नमूना संकलन गरेर ल्याबमा परीक्षण गरिएको थियो ।

मसलाका २९४ वटा, गुलियो पदार्थ/कन्फेक्सनरीका १६४ वटा, चिया कफीका १५५ वटा, प्रशोधित पिउने पानीका ११४ वटा, दूध तथा दुग्ध पदार्थका ७९ वटा, नुनका ४० वटा, मासु तथा मासुजन्य पदार्थ ३ वटा, अन्य खाद्य पदार्थका १२९ वटा र दाना पदार्थका १०९ वटागरी २,६५९ वटा नमूनाहरूको विश्लेषण परीक्षण गरिएको थियो ।

ती २ हजार ६५९ वटा संकलित नमूनाहरूको परीक्षण गर्दा खाद्यान्न/दलहनका ३२ बटा, फल तथा सागपात जन्य पदार्थ १२ बटा, तेल तथा घ्यूजन्य पदार्थ १५ वटा, मसलाका ५ वटा मापदण्डभन्दा प्रतिकूल पाइएको थियो ।

त्यसैगरी गुलियो पदार्थ/कन्फेक्सनरीका ९ वटा, चिया कफीका ९ वटा, प्रशोधित पिउने पानीका १० वटा, दूध तथा दुग्ध पदार्थका ७ वटा र अन्य खाद्य पदार्थका १० वटागरी जम्मा १०९ वटा (४.१० प्रतिशत) नमूनाहरूको परीक्षण प्रतिवेदन प्रतिकूल पाइएको थियो ।

हेर्नुहोस्, मुद्दाको विवरण :

 

salt training

कमेन्ट गर्नुहोस्