
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संलग्नताको आरोप लागेका बेचन झा पुर्पक्षका लागि जेल चलान भएका छन् ।
काठमाडौं जिल्ला अदालतको आदेशसँगै उनी आइतबार जेल चलान भएका हुन् ।
झालाई केन्द्रीय कारागार सुनधारा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले लोकान्तरलाई जानकारी दिए ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले आइतबार झालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो ।
सरकारी वकिलको कार्यालयले झाविरुद्ध साउन २९ गते अदालतमा मुद्दा दायर गरेको थियो ।
गत असार १५ गते पक्राउ परेका झाले प्रहरीसँग इन्कारी बयान गरेका थिए ।
राजनीतिक नेतृत्वसँग पहुँच बनाएका झामाथि नक्कली शरणार्थी प्रकरणमा आर्थिक कारोबार मिलाएको आरोप लागेको थियो ।