
गृहमन्त्री रमेश लेखकले विगत १८ वर्षदेखि थाती रहेको शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
‘चौपातो नेपाल’द्वारा आज कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा आयोजित विशिष्ट प्रतिभा सम्मान तथा वृहत् साङ्गीतिक काव्य गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । शान्ति प्रक्रिया अन्तिम चरणमा पुगेको उनले बताए ।
मुलुकका प्रमुख दुई राजनीतिक दल मिलेर बनेको वर्तमान सरकार देशमा दिगो शान्ति र सुशासन कायम गरी जनतामा देखिएको निराशा चिर्न सफल हुने उनको विश्वास छ ।
'राजनीतिक अस्थिरताले उत्पन्न निराशालाई आशामा बदल्न नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)को समीकरण बनेको हो,' उनले भने ।
मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी चरित्रको राज्य निर्माण गर्ने काम भए पनि राजनीतिक स्थिरता दिन नसक्दा निराशा बढेको गृहमन्त्री लेखकको भनाइ थियो ।
'सरकार निर्माणका क्रममा विभिन्न राजनीतिक दल सम्मिलित समीकरण बन्ने र भत्किने क्रम चल्यो । सरकारको अस्थिरताको सबै क्षेत्रमा प्रभाव पर्न थाल्यो । विधिको शासन सुनिश्चित गर्न वर्तमान सरकार गठन गर्न आवश्यक भयो,' उनले भने ।
शिथिल भएको अर्थतन्त्रलाई गतिशील बनाउन, विकास निर्माणका काम द्रुत गतिमा अगाडि बढाउन, सुशासन स्थापित गर्न, शान्ति कायम गर्न र रोजगारी सिर्जना गर्न वर्तमान सरकार बनेको गृहमन्त्री लेखकले स्पष्ट पारे ।