२२ जेठ २०८३, शुक्रबार

लोकन्थली बसपार्कमा सुनको सिक्री लुटपाटः तीन आरोपी पक्राउ

भदौ ५, २०८१
काठमाडौं
लोकन्थली बसपार्कमा सुनको सिक्री लुटपाटः तीन आरोपी पक्राउ

भक्तपुरकाे लोकन्थली बसपार्कमा एक महिलाले लगाएको सुनको सिक्री लुटपाट घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गत साउन २१ गते बिहान ११ बजे रामेछापकी कमला गौतमले लगाएको एक तोलाको सुनको सिक्री लुटपाट भएको थियो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको तिमालका खनक भन्ने अनिलकुमार तामाङ, नमोबुद्धका गणेश लामा र बेथानचोकका रोहित भन्ने सुरेश तामाङ छन् । 

यो समूह लोकन्थली बसपार्कबाट गौतमको सिक्री लुटपाट गरेर फरार भएकाे थियाे । अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार पक्राउ परेमध्येका अनिल यसअघि २०७१ जेठ १ गते पक्राउ परी अभद्र व्यवहार मुद्दामा कारबाही भोगेका अभियुक्त हुन् । 

त्यस्तै गणेश २०७५ मंसिरमा २६ मा, २०७६ पुस ७ मा, २०७९ कात्तिक २१ मा र गत साउन ४ गते प्रहरी वृत्त नयाँ बानेश्वरबाट अभद्र मुद्दा चलाइएका अभियुक्त रहेको प्रहरीले जनाएको छ । 

अर्का आरोपी सुरेश पनि पटके अभियुक्त हुन् । उनी यसअघि २०७८ कात्तिक ७ गते प्रहरी वृत्त बौद्धबाट, २०७८ भदौ ३० मा, २०७८ साउन ८ मा र २०७९ भदौ २६ मा प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारमा मुद्दा चलेका अभियुक्त रहेको जानकारी प्रवक्ता आचार्यले दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्